
काठमाडौं । भदौ १० गते नेपाल र चीनमा विनाशकारी बाढी निम्त्याएको हिमनदी भत्किनुअघि हिमाली क्षेत्रमा असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्याङ्कको विश्लेषणले देखाएको छ ।
अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० सम्म करिब ५ हजार २०० मिटर उचाइको उक्त क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको छ । ५५ वर्षभन्दा लामो तथ्याङ्कअनुसार यसअघि सोही अवधिमा तापक्रम ४ डिग्री सेल्सियसभन्दा माथि पुगेको थिएन । यद्यपि, उच्च तापक्रम र हिमनदी भत्किने घटनाबीच प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन ।
क्यालिफोर्नियास्थित अनुसन्धान संस्था बर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेले विभिन्न मौसमसम्बन्धी तथ्याङ्क विश्लेषण गरी तापक्रमको पुनर्निर्माण गरेका हुन् । उनका अनुसार हिमनदी भत्किएको क्षेत्रमा २०औँ शताब्दीको मध्ययतादेखि भदौ ५–१० को अवधिको औसत तापक्रम करिब १.८ डिग्री सेल्सियस बढेको देखिन्छ ।
जलवायु परिवर्तनका कारण थपिएको तापक्रमलाई अलग गर्दा यस्तो तापक्रमको अवस्था केही हजार वर्षमा एकपटक मात्र देखिन सक्ने रोहडेले एएफपीका लागि गरेको गणनामा उल्लेख गरेका छन् । युरोपेली संघको कोपर्निकस जलवायु परिवर्तन सेवाको सन् १९७० यताका तथ्याङ्कले पनि लाङटाङ क्षेत्रमा उक्त समय रेकर्डमध्येको चौथो सबैभन्दा तातो गर्मीसँग मेल खाने देखाएको छ ।
फ्रान्सेली जलवायुविद् भ्यालेरिया म्यासन–डेल्मोटेका अनुसार असाधारण गर्मीले पर्माफ्रस्ट पग्लिनुका साथै चट्टानी ढलान र हिमनदीको संयुक्त पतनलाई बढावा दिएको हुन सक्छ । पर्माफ्रस्टले चट्टानी संरचनालाई बाँधेर राख्ने ‘सिमेन्ट’ जस्तै काम गर्ने भएकाले यसको पग्लाइले पहाडलाई अस्थिर बनाउन सक्छ ।
उपग्रहबाट प्राप्त तस्बिरमा पनि घटना हुनुअघि उल्लेखनीय रूपमा हिउँ पग्लिएको देखिएको छ। फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्रका हिमनदीविद् एटिएन बर्थियरका अनुसार पग्लिएको पानी पहाडका चिरामा प्रवेश गर्दा पहिरो वा ढलान भत्किन सहज भएको हुन सक्छ ।
तर विज्ञहरूले तापक्रम बढ्नु नै हिमनदी वा पहाड भत्किनुको प्रत्यक्ष कारण भएको निष्कर्ष निकाल्न हतार गर्न नहुने बताएका छन् । ग्रेनोबल आल्प्स विश्वविद्यालयकी भू–आकृतिविद् क्रिस्टन कुकका अनुसार तापक्रम वृद्धि र पहाड भत्किनुलाई सीधै एउटै घटनाका रूपमा बुझ्न मिल्दैन। तापक्रमले ट्रिगरको काम गरेको भए पनि चट्टान निर्णायक रूपमा अस्थिर हुने अवस्थासम्म त्यसको प्रभाव नदेखिन सक्ने उनको भनाइ छ ।
अनुसन्धानकर्ताले अहिले हिमनदी भत्किनुअघिका वर्षमा पहाडमा देखिएका साना गतिविधि र तापक्रम परिवर्तनबीचको सम्बन्ध अध्ययन गरिरहेका छन्। रोहडेका अनुसार पग्लिएको पानी र पर्माफ्रस्ट पग्लिँदा चट्टानका चिरा तथा ‘फ्र्याक्चर प्लेन’ वरपरको संरचना कमजोर भएको प्रमाण भेटिएमा जलवायु परिवर्तनको भूमिकालाई बलियो आधार मिल्नेछ ।
रोहडेको तापक्रम विश्लेषणमा कोपर्निकस कार्यक्रमअन्तर्गतका जलवायु मोडेल तथा हिमनदी भत्किएको क्षेत्रबाट ९ देखि १४० किलोमिटरको दूरीमा रहेका १४ उच्च उचाइका मौसम केन्द्रका तथ्याङ्क प्रयोग गरिएको थियो ।



















