आमा पहिल्यै गुमाएका दुई बालकबाट आन्दोलनले बाबु पनि खोस्यो

Share this
746shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १७:३०

विराटनगर । २०८२ साल भदौ २४ गते साजन मेवाहाङ राई आन्दोलनमा सहभागी हुन घरबाट निस्किए । देशमा परिवर्तन आउने आशा बोकेर सडकमा पुगेका उनी त्यसपछि कहिल्यै घर फर्किएनन् । भक्तपुरको ठिमीमा प्रहरीको गोली लागेर साजनको मृत्यु भयो । तर, घरमा रहेका उनका दुई नाबालक छोरा भने अझै बाबु फर्किने आशामै छन् ।

साजनको मृत्यु भएको बुधबार एक वर्ष पूरा भएको छ । ४२ वर्षीय साजनको मृत्युले उनका बालक दुई छोरा १३ वर्षीय रेक्जेन राई र ७ वर्षीय जिनी राईको जीवनमा ठूलो शून्यता ल्याएको छ । आमाको माया यसअघि नै गुमाइसकेका उनीहरूले एक वर्षअघि बाबुको सहारासमेत गुमाए ।

Advertisement

संखुवासभाको सिलिचोङ गाउँपालिका–५ मा जन्मिएका साजन पछिल्लो समय सुनसरीको धरान उपमहानगरपालिका–५ मा बस्दै आएका थिए । केही वर्षदेखि उनी भक्तपुरको ठिमीमा दुई छोरासहित भाडाको सानो कोठामा बस्दै ज्यालामजदुरी गर्दै आएका थिए । पहिले चालकको काम गरेका उनले उमेर बढ्दै गएपछि त्यो काम छाडेर घर बनाउने, पर्खाल लगाउने र सिमेन्ट घोट्नेजस्ता मजदुरी गरेर परिवार पाल्न थाले ।

साजनकी श्रीमती सुनिता थेवेको दुई वर्षअघि नै मृत्यु भइसकेको थियो । त्यसपछि दुई छोराको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो । आर्थिक अवस्था कमजोर भए पनि छोराहरूलाई पढाउने र भविष्य सुरक्षित बनाउने सपना उनले देखेका थिए । तर, आमा पहिल्यै गुमाएका दुई छोराबाट आन्दोलनले बाबु पनि खोस्यो ।

भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनको पहिलो दिन साजन सहभागी भएका थिएनन् । तर, आन्दोलनका क्रममा प्रहरीको गोली लागेर युवाहरूको मृत्यु भएको खबरले उनी आक्रोशित बने । भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन भइरहेको थाहा पाएपछि भोलिपल्ट उनी पनि प्रदर्शनमा सहभागी भए ।

साजनका भतिज भरत राईका अनुसार भदौ २४ गते बिहान उनीहरू पेप्सीकोलाबाट बानेश्वरतर्फ जाने जुलुसमा सहभागी भएका थिए । सुरुमा आन्दोलन शान्तिपूर्ण भए पनि साँझतिर अवस्था तनावपूर्ण बन्दै गएको थियो । ‘काका सर्वसाधारणका छोराछोरीमाथि गोली हानेको भन्दै निकै आक्रोशित हुनुहुन्थ्यो,’ भरतले सम्झिए ।

भदौ २४ गते साँझ करिब ५ः३० बजे ठिमीस्थित सानो मैदान क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच तनाव बढ्यो । त्यही क्रममा प्रहरीले चलाएको गोली साजनलाई लाग्यो । उनलाई तत्काल केएमसी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे ।

साजनको मृत्युको खबर भने परिवारले तत्काल पाएन । उनी घर नफर्किएपछि आफन्त र छिमेकीले खोजी सुरु गरे । विभिन्न अस्पतालमा खोज्दै जाँदा तीन दिनपछि भदौ २७ गते केएमसी अस्पतालमा उनको शव भेटिएको आफन्त विश्वरसिंह मेवाहाङले बताए । ‘बुबा कता जानुभयो भनेर बच्चाहरूले छिमेकीलाई भनेछन् । उनीहरू कोठामा एक्लै थिए,’ विश्वरसिंह भन्छन् ।

साजनको शव सम्मानका साथ धरान ल्याएर जातीय संस्कारअनुसार अन्त्येष्टि गरिएको थियो । राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको उनको शवलाई धरान उपमहानगरपालिका–५ स्थित निसानदेवी सामुदायिक वन क्षेत्रमा अन्त्येष्टि गरिएको हो ।

साजनको मृत्यु भएपछि उनका दुवै छोरा अहिले धरानमा रहेका ठूलोबुबा नइन्द्रकुमार राईसँग बस्दै आएका छन् । आपँटार चौरमा रहेको टिन र काठको सानो घरमा उनीहरूको दिन बितिरहेको छ ।

नइन्द्रकुमार र पत्नी उत्तरकुमारी पनि दैनिक ज्यालामजदुरी गरेर परिवार चलाउँछन् । आफ्नै परिवार पाल्न कठिन अवस्थामा रहेका उनीहरूमाथि भाइका दुई छोराको पालनपोषण, शिक्षा र स्वास्थ्यको जिम्मेवारी थपिएको छ ।

‘भाइका दुई छोराको भविष्य कसरी बनाउने भन्ने ठूलो चिन्ता छ । हाम्रो आर्थिक अवस्था कमजोर छ,’ नइन्द्रकुमारले भने, ‘जसोतसो धानेका छौँ । तर, दीर्घकालीन रूपमा उनीहरूको भविष्य सुरक्षित गर्न गाह्रो छ ।’

परिवारका अनुसार केही व्यक्ति तथा संस्थाले बालकहरूका लागि सहयोग गरेका छन् । त्यही सहयोगबाट उनीहरूको पढाइ र दैनिक आवश्यकता पूरा हुँदै आएको छ । तर, दीर्घकालीन सुरक्षा र शिक्षाको सुनिश्चितता अझै हुन सकेको छैन ।

उत्तरकुमारीले सरकारले साजनका छोराहरूको भविष्य सुनिश्चित गर्नुपर्ने बताइन् । ‘नानीहरूको पढाइ, स्वास्थ्य र आधारभूत आवश्यकता सरकारले सुनिश्चित गर्नुपर्छ । हाम्रो आर्थिक अवस्था कमजोर छ । नानीहरूलाई हेर्दा रुन आउँछ,’ उनले भनिन् ।

साजन देशमा परिवर्तन र आगामी पुस्ताले अन्याय भोग्न नपरोस् भन्ने चाहना राख्थे । ‘हाम्रो पुस्ताको जिन्दगी त अब यसै सकियो । तर, अबका बालबालिकाले अन्याय सहनु नपरोस्’ भन्ने उनको भनाइ सम्झँदै भरत भन्छन् ।

देश परिवर्तनको आवाज बोकेर सडकमा निस्किएका साजनको जीवन आन्दोलनकै क्रममा समाप्त भयो । तर, उनको बलिदानपछि बाँकी रहेको परिवारको संघर्ष अझै सकिएको छैन । आमाको काख र बाबुको सहारा दुवै गुमाएका उनका दुई छोरा अहिले पनि सुरक्षित भविष्यको प्रतीक्षामा छन् ।

तपाइको प्रतिक्रिया
अल्पविकसित मुलुकबाट स्तरोन्नतिपछि नेपाली उद्यमीलाई नयाँ अवसर र चुनौती
अल्पविकसित मुलुकबाट स्तरोन्नतिपछि नेपाली उद्यमीलाई नयाँ अवसर र चुनौती
भोटेकोशी बाढीपीडितका लागि सीजी फुड्सका श्रमिक र कर्मचारीले दिए एक दिनको पारिश्रमिक
अर्किड कलेजले बाढी प्रभावितका लागि ५ लाख सहयोग
अर्किड कलेजले बाढी प्रभावितका लागि ५ लाख सहयोग
मोरङ प्रहरीको ‘हटलाइन’ अस्थायी रूपमा बन्द, वैकल्पिक नम्बरको व्यवस्था
आमा पहिल्यै गुमाएका दुई बालकबाट आन्दोलनले बाबु पनि खोस्यो
पूर्वप्रधान न्यायाधीश जबराविरुद्धको रिट खारेज
हत्कडीको नियमित प्रयोगविरुद्ध सर्वोच्चमा रिट
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार
मनोसामाजिक परामर्शपछि मात्रै बाढी प्रभावित विद्यालयमा नियमित कक्षा
आगजनीको घाउ मेटाउँदै कारोबारमा फर्कियो धरानको भाटभटेनी
नेपाल कानुन आयोग विधेयक संसदमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×