
विराटनगर । २०८२ साल भदौ २४ गते साजन मेवाहाङ राई आन्दोलनमा सहभागी हुन घरबाट निस्किए । देशमा परिवर्तन आउने आशा बोकेर सडकमा पुगेका उनी त्यसपछि कहिल्यै घर फर्किएनन् । भक्तपुरको ठिमीमा प्रहरीको गोली लागेर साजनको मृत्यु भयो । तर, घरमा रहेका उनका दुई नाबालक छोरा भने अझै बाबु फर्किने आशामै छन् ।
साजनको मृत्यु भएको बुधबार एक वर्ष पूरा भएको छ । ४२ वर्षीय साजनको मृत्युले उनका बालक दुई छोरा १३ वर्षीय रेक्जेन राई र ७ वर्षीय जिनी राईको जीवनमा ठूलो शून्यता ल्याएको छ । आमाको माया यसअघि नै गुमाइसकेका उनीहरूले एक वर्षअघि बाबुको सहारासमेत गुमाए ।
संखुवासभाको सिलिचोङ गाउँपालिका–५ मा जन्मिएका साजन पछिल्लो समय सुनसरीको धरान उपमहानगरपालिका–५ मा बस्दै आएका थिए । केही वर्षदेखि उनी भक्तपुरको ठिमीमा दुई छोरासहित भाडाको सानो कोठामा बस्दै ज्यालामजदुरी गर्दै आएका थिए । पहिले चालकको काम गरेका उनले उमेर बढ्दै गएपछि त्यो काम छाडेर घर बनाउने, पर्खाल लगाउने र सिमेन्ट घोट्नेजस्ता मजदुरी गरेर परिवार पाल्न थाले ।
साजनकी श्रीमती सुनिता थेवेको दुई वर्षअघि नै मृत्यु भइसकेको थियो । त्यसपछि दुई छोराको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो । आर्थिक अवस्था कमजोर भए पनि छोराहरूलाई पढाउने र भविष्य सुरक्षित बनाउने सपना उनले देखेका थिए । तर, आमा पहिल्यै गुमाएका दुई छोराबाट आन्दोलनले बाबु पनि खोस्यो ।
भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनको पहिलो दिन साजन सहभागी भएका थिएनन् । तर, आन्दोलनका क्रममा प्रहरीको गोली लागेर युवाहरूको मृत्यु भएको खबरले उनी आक्रोशित बने । भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन भइरहेको थाहा पाएपछि भोलिपल्ट उनी पनि प्रदर्शनमा सहभागी भए ।
साजनका भतिज भरत राईका अनुसार भदौ २४ गते बिहान उनीहरू पेप्सीकोलाबाट बानेश्वरतर्फ जाने जुलुसमा सहभागी भएका थिए । सुरुमा आन्दोलन शान्तिपूर्ण भए पनि साँझतिर अवस्था तनावपूर्ण बन्दै गएको थियो । ‘काका सर्वसाधारणका छोराछोरीमाथि गोली हानेको भन्दै निकै आक्रोशित हुनुहुन्थ्यो,’ भरतले सम्झिए ।
भदौ २४ गते साँझ करिब ५ः३० बजे ठिमीस्थित सानो मैदान क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच तनाव बढ्यो । त्यही क्रममा प्रहरीले चलाएको गोली साजनलाई लाग्यो । उनलाई तत्काल केएमसी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे ।
साजनको मृत्युको खबर भने परिवारले तत्काल पाएन । उनी घर नफर्किएपछि आफन्त र छिमेकीले खोजी सुरु गरे । विभिन्न अस्पतालमा खोज्दै जाँदा तीन दिनपछि भदौ २७ गते केएमसी अस्पतालमा उनको शव भेटिएको आफन्त विश्वरसिंह मेवाहाङले बताए । ‘बुबा कता जानुभयो भनेर बच्चाहरूले छिमेकीलाई भनेछन् । उनीहरू कोठामा एक्लै थिए,’ विश्वरसिंह भन्छन् ।
साजनको शव सम्मानका साथ धरान ल्याएर जातीय संस्कारअनुसार अन्त्येष्टि गरिएको थियो । राष्ट्रिय झण्डा ओढाएर सम्मान गरिएको उनको शवलाई धरान उपमहानगरपालिका–५ स्थित निसानदेवी सामुदायिक वन क्षेत्रमा अन्त्येष्टि गरिएको हो ।
साजनको मृत्यु भएपछि उनका दुवै छोरा अहिले धरानमा रहेका ठूलोबुबा नइन्द्रकुमार राईसँग बस्दै आएका छन् । आपँटार चौरमा रहेको टिन र काठको सानो घरमा उनीहरूको दिन बितिरहेको छ ।
नइन्द्रकुमार र पत्नी उत्तरकुमारी पनि दैनिक ज्यालामजदुरी गरेर परिवार चलाउँछन् । आफ्नै परिवार पाल्न कठिन अवस्थामा रहेका उनीहरूमाथि भाइका दुई छोराको पालनपोषण, शिक्षा र स्वास्थ्यको जिम्मेवारी थपिएको छ ।
‘भाइका दुई छोराको भविष्य कसरी बनाउने भन्ने ठूलो चिन्ता छ । हाम्रो आर्थिक अवस्था कमजोर छ,’ नइन्द्रकुमारले भने, ‘जसोतसो धानेका छौँ । तर, दीर्घकालीन रूपमा उनीहरूको भविष्य सुरक्षित गर्न गाह्रो छ ।’
परिवारका अनुसार केही व्यक्ति तथा संस्थाले बालकहरूका लागि सहयोग गरेका छन् । त्यही सहयोगबाट उनीहरूको पढाइ र दैनिक आवश्यकता पूरा हुँदै आएको छ । तर, दीर्घकालीन सुरक्षा र शिक्षाको सुनिश्चितता अझै हुन सकेको छैन ।
उत्तरकुमारीले सरकारले साजनका छोराहरूको भविष्य सुनिश्चित गर्नुपर्ने बताइन् । ‘नानीहरूको पढाइ, स्वास्थ्य र आधारभूत आवश्यकता सरकारले सुनिश्चित गर्नुपर्छ । हाम्रो आर्थिक अवस्था कमजोर छ । नानीहरूलाई हेर्दा रुन आउँछ,’ उनले भनिन् ।
साजन देशमा परिवर्तन र आगामी पुस्ताले अन्याय भोग्न नपरोस् भन्ने चाहना राख्थे । ‘हाम्रो पुस्ताको जिन्दगी त अब यसै सकियो । तर, अबका बालबालिकाले अन्याय सहनु नपरोस्’ भन्ने उनको भनाइ सम्झँदै भरत भन्छन् ।
देश परिवर्तनको आवाज बोकेर सडकमा निस्किएका साजनको जीवन आन्दोलनकै क्रममा समाप्त भयो । तर, उनको बलिदानपछि बाँकी रहेको परिवारको संघर्ष अझै सकिएको छैन । आमाको काख र बाबुको सहारा दुवै गुमाएका उनका दुई छोरा अहिले पनि सुरक्षित भविष्यको प्रतीक्षामा छन् ।

























