आगजनीको घाउ मेटाउँदै कारोबारमा फर्कियो धरानको भाटभटेनी

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १६:२०

धरान । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएर करिब एक वर्षदेखि बन्द रहेको धरानको भाटभटेनी सुपर मार्केट बुधबारदेखि पुनः सञ्चालनमा आएको छ ।

जेनजी आन्दोलनका नाममा गत वर्ष भदौ २४ गते अराजक समूहले आगजनी र तोडफोड गरेपछि बन्द भएको धरान पुतलीलाइनस्थित भाटभटेनी मर्मत तथा पुनर्निर्माणपछि सञ्चालनमा आएको हो । आगजनी भएकै दिन पारेर सञ्चालनमा आएको भाटभटेनी पुरानो घाउ मेटाउँदै कारोबारमा फर्किएको छ ।

Advertisement

वैदिक परम्पराअनुसार पूजा गरी भाटभटेनीकी सञ्चालक सावित्री घले गुरुङले स्टोरको पुनः शुभारम्भ गरेकी हुन् । पुनः सञ्चालनसँगै धरान र आसपासका उपभोक्ताले दैनिक उपभोग्य सामग्रीसहित घरायसी तथा अन्य आवश्यक वस्तु खरिदका लागि भाटभटेनीको सेवा लिन पाउने भएका छन् ।

आन्दोलनका क्रममा भएको आगजनीबाट स्टोरको भवन, बिक्री कक्ष, सामान तथा विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो । क्षतिपछि स्टोर पूर्ण रूपमा बन्द गरिएको थियो । त्यसपछि कम्पनीले क्षतिग्रस्त संरचनाको मर्मत, पुनर्निर्माण र आवश्यक व्यवस्थापनको काम अघि बढायो ।

भाटभटेनी सुपर मार्केटका व्यवस्थापक विनोद भट्टराईका अनुसार पुनर्निर्माणका क्रममा भवन तथा भौतिक संरचनाको मर्मतसँगै स्टोरको आन्तरिक व्यवस्थापनमा समेत सुधार गरिएको छ । ग्राहकलाई सहज र गुणस्तरीय सेवा दिने उद्देश्यसहित स्टोरलाई नयाँ व्यवस्थापन र आवश्यक सुविधासहित सञ्चालनमा ल्याइएको उनले बताए ।

उनका अनुसार क्षतिको कारण सुपर मार्केट बन्द रहे पनि कम्पनीले कर्मचारीलाई कटौती गरेको थिएन । पुनः सञ्चालनमा आएका शाखामा यसअघि कार्यरत जनशक्तिलाई नै प्राथमिकताका साथ काममा फर्काइएको व्यवस्थापनले जनाएको छ ।

गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भाटभटेनीका शाखा तोडफोड, लुटपाट र आगजनीको चपेटामा परेका थिए । त्यसक्रममा धरानसहित कोशी प्रदेशका विराटनगर, बिर्तामोड र दमकका सुपर मार्केट पनि प्रभावित भएका थिए ।

कोशी प्रदेशमा क्षति पुगेका चार शाखामध्ये विराटनगर र बिर्तामोड शाखा यसअघि नै पुनर्निर्माण तथा मर्मतपछि सञ्चालनमा आइसकेका छन् । धरान शाखा पनि बुधबारदेखि सञ्चालनमा आएसँगै प्रदेशका चारमध्ये तीनवटा शाखा नियमित कारोबारमा फर्किएका छन् । दमक शाखाको पुनर्निर्माण भने अन्तिम चरणमा पुगेको र त्यसलाई पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको व्यवस्थापनले जनाएको छ ।

धरानको भाटभटेनी लामो समय बन्द हुँदा दैनिक उपभोग्य वस्तु खरिद गर्ने उपभोक्तालाई असहज भएको स्थानीय व्यवसायीहरू बताउँछन् । स्टोर पुनः सञ्चालनमा आएपछि एकै स्थानमा विभिन्न प्रकारका सामग्री सहज रूपमा उपलब्ध हुने भएकाले उपभोक्तालाई सुविधा पुग्ने उनीहरूको भनाइ छ ।

धरानका व्यवसायी तथा सुनसरी उद्योग वाणिज्य संघका प्रचारप्रसार संगठन सचिव विष्णु बरालले भाटभटेनी पुनः सञ्चालनमा आउनुलाई धरानका लागि सकारात्मक विषय भएको बताए । आन्दोलनका क्रममा भाटभटेनीमा भएको आक्रमणप्रति दुःख व्यक्त गर्दै उनले निजी क्षेत्रका उद्योग तथा व्यवसायको सुरक्षा आवश्यक रहेको बताए ।

उनले भाटभटेनीले उपभोक्तालाई सेवा दिनुका साथै ठूलो संख्यामा स्थानीयलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीसमेत उपलब्ध गराउँदै आएको उल्लेख गरे । उद्योगी तथा व्यवसायीको लगानी सुरक्षित हुने वातावरण बनाउनुपर्ने र विगतमा जस्ता घटना दोहोरिन नहुने उनको भनाइ छ ।

धरान शाखा पुनः सञ्चालनमा आएसँगै स्टोरसँग प्रत्यक्ष रूपमा जोडिएका कर्मचारी, आपूर्तिकर्ता, ढुवानी व्यवसायी तथा अन्य व्यवसायमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । करिब एक वर्षदेखि रोकिएको कारोबार सुरु भएपछि पुतलीलाइन क्षेत्रमा समेत व्यापारिक गतिविधि बढ्ने स्थानीय व्यवसायीहरूको विश्वास छ ।

धरान पूर्वी नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा चिनिन्छ । ठूलो उपभोक्ता बजार रहेको धरानमा भाटभटेनी लामो समयदेखि खुद्रा व्यापारको महत्वपूर्ण केन्द्रका रूपमा रहँदै आएको थियो । स्टोर बन्द भएपछि उपभोक्ताले वैकल्पिक बजारमा निर्भर हुनुपरेको थियो ।

कम्पनीले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका आफ्ना अन्य शाखाहरूलाई पनि क्रमशः पुनः सञ्चालनमा ल्याउँदै आएको छ । महाराजगन्ज, बौद्ध, कोटेश्वर, पोखरा, चितवन, विराटनगर र बिर्तामोडलगायतका प्रभावित शाखाहरू सञ्चालनमा आइसकेका छन् । काठमाडौंको नक्सालस्थित मुख्य स्टोर पनि आगामी असोजमा सञ्चालनमा ल्याउने तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×