
काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । मलेसियाको बायुमास क्रिकेट ओभलमा सुरु हुने खेलमा टस जितेर ओमानका कप्तान विनायक शुक्लाले नेपाललाई ब्याटिङको निम्तो दिए ।
नेपाल आजको खेल जित्दै फाइनल यात्रा तय गर्ने लक्ष्यमा छ। ओमान भने समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । समूह ‘ए’ को विजेता नेपाल फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेता ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल समूह चरणमा तीन खेल जित्दै सेमिफाइनलमा पुगेको हो । नेपालले बहराइन, मलेसिया र साउदी अरेबियालाई पराजित गर्दा हङकङसँग भने हार व्यहोरेको थियो ।
समूह चरणको नतिजा नेपालका लागि सन्तोषजनक रह्यो । ब्याटिङमा भने नेपालले अपेक्षित सुधार देखाउन सकेन । त्यसैले नेपालका लागि ओमानसँगको खेलमा ब्याटिङ मुख्य चुनौतीका रूपमा रहने क्रिकेट विश्लेषक रवि तिमिल्सिना बताउँछन् ।
हालसम्म नेपाल र ओमानबीच एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० खेलमा भेट भएको छ । जसमा नेपालले चार खेल र ओमानले ६ खेलमा जित निकालेको विगत छ । पछिल्लो पटक नेपालले ओमानविरुद्ध गत मे महिनामा ओमानविरुद्ध खेलेको थियो । उक्त आइसिसी विश्वकप क्रिकेट लिग–२ सिरिजमा नेपालले ओमानविरुद्ध ८१ रनको सानदार जित निकालेको थियो । नेपाल आज पनि सोही लय दोहोर्याउँदै ओमानलाई हराएर फाइनलमा स्थान बनाउने योजनामा छ ।

























