
काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिए । मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूप्रति विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
उनले ग्यास उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ आशयको अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो । मन्त्रीको उक्त अभिव्यक्तिको नेपाल उद्योग वाणिज्य महासंघले समेत विरोध गरेको थियो ।
महासंघले उद्योगी–व्यवसायीप्रति जिम्मेवार र मर्यादित अभिव्यक्ति दिन सरकारका मन्त्री तथा पदाधिकारीलाई आग्रह गरेको थियो । विवादास्पद अभिव्यक्तिको आलोचना भइरहेका बेला मन्त्री यादवले राजीनामा दिएकी हुन् । उनको राजीनामा स्वीकृत भइसकेको वा नभइसकेकोबारे भने थप विवरण सार्वजनिक भएको छैन ।

























