अर्थतन्त्र चलायमान बनाउन पाँच विशेष प्याकेज अघि बढाउँदै सरकार

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार १३:५६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले पाँच वटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा उनले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँच वटा प्याकेजमार्फत काम अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार पहिलो प्याकेजअन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान र पुनःस्थापनाका लागि काम भइरहेको छ। बाढीबाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनःस्थापनाका लागि आवश्यक अध्ययन भइसकेको उनले बताए । दोस्रो प्याकेजअन्तर्गत शिथिल रहेको पुँजी बजारलाई चलायमान बनाउन एक साताभित्र १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याउने तयारी भइरहेको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।

Advertisement

निजी क्षेत्रको प्रवर्द्धन र पुनरुत्थानका लागि पनि छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको उनले बताए। यसलाई तेस्रो प्याकेजका रूपमा अघि बढाइने उनको भनाइ छ । त्यस्तै, चौथो प्याकेजअन्तर्गत नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट हटाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको अर्थमन्त्री वाग्लेले बताए ।

पाँचौँ प्याकेजअन्तर्गत भने भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालनमा केन्द्रित भएर काम भइरहेको उनले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय फण्ड भित्र्याउने र त्यसलाई व्यवस्थित गर्ने दिशामा पनि हामी अग्रसर भएका छौँ,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट अकल्पनीय क्षति भएको भन्दै प्रभावित उद्योगी, व्यवसायी तथा व्यापारीका लागि सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए । उनले निजी क्षेत्रको प्रवर्द्धन र पुनरुत्थानका लागि सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×