पूर्वअर्थमन्त्री कार्कीको मुद्दामा फाइल झिकाउन विशेष अदालतको आदेश

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार २१:३८

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसम्बन्धी तीनवटा महत्वपूर्ण फाइल झिकाउन आदेश दिएको छ । शुक्रबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कानुन मन्त्रालयसँग सम्बन्धित प्रमाण तथा राय झिकाउने आदेश दिएको हो ।

अदालतले विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई कर छुट दिन अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको प्रस्तावको फाइल झिकाउन भनेको छ । त्यस्तै कर छुटसम्बन्धी विषयमा अख्तियारलाई दिइएको पूर्वनायबमहान्यायाधिवक्ता ठोकप्रसाद शिवाकोटी तथा विज्ञहरू राजेन्द्रप्रसाद अधिकारी, कृष्णराज पन्त र सुरेश प्रधानको राय पनि अख्तियारमार्फत पेस गर्न आदेश दिएको छ ।

Advertisement

चाइना एक्जिम बैंकलाई कर छुट दिने विषयमा कानुन मन्त्रालयले दिएको रायसम्बन्धी निर्णय फाइलसमेत अदालतले मागेको छ । ठेकेदार कम्पनीलाई कर छुट दिने निर्णय कुन प्रक्रिया र आधारमा भएको हो भन्ने निष्कर्षमा पुग्न यी कागजात तथा राय आवश्यक देखिएपछि अदालतले फाइल झिकाउने आदेश दिएको हो ।

अख्तियारले ठेक्का सम्झौताविपरीत ठेकेदार कम्पनीलाई गैरकानुनी रूपमा राजस्व छुट दिएको दाबी गर्दै गत वैशाख २४ गते तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले प्रतिवादीहरूबाट ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×