
घडीको टिक्–टिक्सँगसँगै
धड्किरहन्छ मुटुको धड्कन
धक् धक् धक् धक्
उसलाई बिसाउने
अनुमति छैन
ऊ बिसाउनु भनेको
आकाश खस्नु हो
पृथ्वी ध्वस्त हुनु हो
घामको ज्योति हराउनु हो
जून निदाउनु हो
ताराहरू बिलाउनु हो
ऊ बिसाउनु भनेको
यात्रा सिद्धिनु हो
संसार रित्तिनु हो
दुःख, पीडा सकिनु हो
सास रोकिनु हो
ऊ बिसाउनु भनेको
शरीरको रगत जम्नु हो
आँखाहरू एकोहोरिनु हो
चेतना शून्य हुनु हो
शरीर चिसाउनु हो
जिन्दगीको यात्रामा
पूर्णविराम लाग्नु हो।
उमेरको चढावसँगै
साँघुरिएको बाटो हुँदै
सुकेका नसाहरूबाट
घस्रिँदै गरेको रगत
तेल सकिएको बातीझैँ
धिपधिप चलेको सास
मधुरो आँखा, दबिएको स्वर
एउटा पाको शरीरलाई
सकिनसकि घिस्याइरहेको छ
सकिनसकि डोर्याइरहेको छ
उसको हौसलामा समेटिएको छ
एउटा जिन्दगीको गन्तव्य
यसैले ऊ दौडिरहेको छ
जिन्दगीको आशा बनेर
जिन्दगीको भरोसा बनेर
लगातार हिँडिरहेको छ ऊ
उसले कुनै अवस्थामा पनि
बिसाउनु मिल्दैन र बिसाउनु हुँदैन
उसका थाकेका धड्कनहरूलाई
कृत्रिम स्टेन्टसँग सम्झौता गराउँदै
स्टेन्टका सर्तहरू स्वीकार गर्दै
उसको भरोसामा जिन्दगी
जिन्दगीको भरोसामा ऊ
यस्तै वाचाबन्धनको रक्षार्थ
त्यही स्टेन्टको सहारा लिएर
ऊ हिँडिरहन्छ, दौडिरहन्छ
बाँचाइको आशा जगाउँदै
अथाह सपना देखाउँदै
झिनो मलिन स्वरमा
जिन्दगीको गीत सुनाउँदै
धक् धक् धक् धक्
एउटा विवश मुटु



















