
हामी नेपालीहरूमा एउटा विशेष शक्ति छ- दुःख सहने क्षमता, संकटमा जुट्ने भावना र अप्ठ्यारोमा एकअर्काको साथ दिने संस्कार। देशभित्र होस् वा विदेशमा, नेपालीले आफ्नो मेहनत, साहस र संघर्षबाट बाटो बनाएको छ। सीमित स्रोतसाधनका बीच पनि उभिन सक्ने, लड्न सक्ने र फेरि उठ्न सक्ने क्षमता नेपाली समाजको ठूलो सम्पत्ति हो।
विदेशमा पुगेका नेपालीलाई हेर्दा पनि यही कुरा देखिन्छ। शून्यबाट सुरु गरेर व्यवसाय खडा गर्ने, पढेर, सीप सिकेर आफ्नो स्थान बनाउने, परिवारलाई धान्ने र कठिन परिस्थितिमा पनि समुदायका अरू मानिसलाई सहयोग गर्ने नेपालीको संख्या ठूलो छ। विपत्ति आउँदा विदेशमा रहेका नेपालीले नेपाल सम्झिन्छन्, नेपालमा रहेका नेपालीले विदेशमा रहेका आफन्त सम्झिन्छन्। दुःखले हामीलाई जोड्ने गरेको छ।
तर प्रश्न यहाँनेर उठ्छ- हामीसँग यति धेरै शक्ति हुँदाहुँदै पनि त्यो शक्ति देश, समाज र समग्र मानवताको हितमा किन पर्याप्त परिणाम दिन सकिरहेको छैन? सायद समस्या शक्तिको कमीमा होइन, त्यसको दिशामा छ।
हाम्रो ठूलो कमजोरी भनेको एकअर्कासँग सहकार्यभन्दा प्रतिस्पर्धा बढी हुनु हो। अर्को व्यक्तिले केही राम्रो गर्यो भने त्यसबाट सिक्नेभन्दा आफू कहाँ उभिएको छु भनेर तुलना गर्ने प्रवृत्ति बलियो देखिन्छ। संस्थाहरूबीच सहकार्य हुनुपर्ने ठाउँमा दूरी बढ्छ। एउटै उद्देश्यका लागि काम गर्नुपर्ने मानिसहरू पनि समूह, गुट र आफ्ना-आफ्ना वृत्तमा बाँडिन्छन्।
त्यसमा अर्को समस्या थपिन्छ- आफ्नो विचार सही र अर्कोको विचार गलत ठान्ने प्रवृत्ति। विचार फरक हुनु स्वाभाविक हो। बाटो फरक हुन सक्छ। काम गर्ने शैली फरक हुन सक्छ। तर फरक विचार हुनु भनेको अर्को पक्ष शत्रु हुनु होइन। हामीले भने यही सामान्य सत्य बिर्सिँदै गएका छौँ। परिणामतः समाजको सामूहिक ऊर्जा आवश्यक काममा भन्दा अनावश्यक विवादमा बढी खर्च भइरहेको छ।
संकट आउँदा भने हामी एकाएक भावनात्मक रूपमा जाग्छौँ। बाढी आउँदा सहयोगका हातहरू अगाडि बढ्छन्। भूकम्प आउँदा मानिसहरू सडकमा निस्कन्छन्। कसैलाई अप्ठ्यारो पर्दा चन्दा उठ्छ, राहत पुग्छ, श्रमदान हुन्छ। यो हाम्रो सुन्दर पक्ष हो।
तर संकट टरेपछि त्यो ऊर्जा कहाँ जान्छ ? यही प्रश्न महत्वपूर्ण छ। हामी संकटको समयमा जागेको मानवीय भावनालाई दीर्घकालीन संस्थागत शक्तिमा बदल्न सकिरहेका छैनौँ। विपत्तिपछि राहत दिन्छौँ, तर अर्को विपत्ति आउँदा कम क्षति होस् भनेर प्रणाली सुधार्ने काममा त्यति निरन्तरता दिँदैनौँ। समस्या आएपछि प्रतिक्रिया दिन्छौँ, तर समस्या किन आयो भनेर गहिरो अनुसन्धान गर्ने र त्यसबाट सिकेर भविष्यका लागि सुधार गर्ने संस्कार अझै बलियो बनाउन सकेका छैनौँ।
हामी परिणाम आएपछि दोषी खोज्न धेरै उत्साहित हुन्छौँ। तर कारण खोज्न, तथ्य केलाउन र कमजोरी सच्याउन त्यति धैर्य देखाउँदैनौँ।
अर्को ठूलो शक्ति भनेको विदेशमा रहेका लाखौँ नेपाली हुन्। उनीहरूसँग पैसा मात्र छैन, ज्ञान छ, सीप छ, अनुभव छ, प्रविधिको पहुँच छ, व्यवस्थापनको अनुभव छ र संसारका विभिन्न समाज तथा प्रणालीलाई नजिकबाट बुझ्ने अवसर छ। तर यो विशाल प्रवासी शक्ति अझै पनि नेपालको विकास र राष्ट्र निर्माणसँग व्यवस्थित ढंगले जोडिन सकेको छैन।
कुनै नेपाली विदेशमा सफल भयो भने त्यसलाई व्यक्तिगत सफलताको रूपमा मात्र हेर्ने गर्छौँ। तर त्यही ज्ञान, सीप, पुँजी र अनुभवलाई देशको उत्पादन, शिक्षा, स्वास्थ्य, प्रविधि, उद्यमशीलता र संस्थागत विकाससँग जोड्न सकियो भने त्यसको प्रभाव धेरै ठूलो हुन सक्छ।
नेपालभित्र पनि त्यस्तै छ। हाम्रो जनशक्ति ठूलो छ। प्राकृतिक स्रोत प्रशस्त छन्। युवा जनसंख्या ठूलो शक्ति हो। कृषि, पर्यटन, जलविद्युत्, प्रविधि र उद्यमशीलताको सम्भावना छ। तर सम्भावना मात्र पर्याप्त हुँदैन। सम्भावनालाई परिणाममा बदल्न शक्ति, ज्ञान, पुँजी र संस्थाबीचको सहकार्य आवश्यक हुन्छ।
सायद सबैभन्दा ठूलो समस्या ‘म’ र ‘हामी’ बीचको दूरी बढ्दै जानु हो। ‘म’ सफल भए पुग्यो भन्ने सोचले समाज बलियो हुँदैन। एउटा व्यक्ति धनी भएर मात्र देश धनी हुँदैन। एउटा परिवार सुरक्षित भएर मात्र समाज सुरक्षित हुँदैन। एउटा समूह सफल भएर मात्र राष्ट्र सफल हुँदैन। हामीले ‘म सफल भएँ’ बाट ‘हामी सफल भयौँ’ भन्ने यात्रातर्फ जानुपर्छ।
मेरो बुबाले सधैँ एउटा कुरा भन्नुहुन्थ्यो-‘सकेसम्म अर्काको भलो गर्नू, भलो गर्न नसके कसैको कुभलो नगर्नू।’ यो एउटा परिवारलाई दिइएको सामान्य अर्ती मात्र थिएन। अहिले सम्झँदा लाग्छ, त्यो त समाज चलाउने एउटा ठूलो दर्शन रहेछ।
सबैको भलो गर्न सकिन्छ भन्ने छैन। सबैको समस्या समाधान गर्न सकिन्छ भन्ने पनि छैन। तर कम्तीमा आफूबाट कसैको कुभलो नहोस् भन्ने चेतना मात्रै समाजमा बलियो भयो भने पनि धेरै कुरा बदलिन सक्छ।
परोपकार भनेको पैसा दिनु मात्र होइन। कसैलाई अवसर दिनु पनि परोपकार हो। ज्ञान बाँड्नु पनि परोपकार हो। सीप सिकाउनु पनि परोपकार हो। कसैको बाटो खोलिदिनु, निराश मानिसलाई हौसला दिनु, योग्य व्यक्तिलाई अगाडि बढ्न सहयोग गर्नु र आफूले पाएको अवसर अरूका लागि पनि उपयोगी बनाउनु पनि परोपकार नै हो।
हामीले यही संस्कारलाई व्यक्तिगत जीवनबाट सामाजिक जीवनतर्फ विस्तार गर्न आवश्यक छ। विचार फरक हुन सक्छ। राजनीतिक धारणा फरक हुन सक्छ। संस्था फरक हुन सक्छ। प्राथमिकता फरक हुन सक्छ। तर देश, समाज र मानवताको हितमा काम गर्ने साझा ठाउँ हामीले बनाउनैपर्छ। किनकि हाम्रो शक्ति थोरै छैन।
हाम्रो जनशक्ति एउटा शक्ति हो। विदेशमा रहेका नेपाली अर्को ठूलो शक्ति हुन्। युवाको ऊर्जा शक्ति हो। उद्यमशीलता शक्ति हो। प्राकृतिक स्रोत शक्ति हुन्। प्रविधि र ज्ञान शक्ति हुन्। संकटमा एकअर्कालाई सहयोग गर्ने हाम्रो संस्कार आफैँमा ठूलो सामाजिक पुँजी हो।
समस्या यति मात्र हो-यी शक्तिहरू एउटै दिशामा पर्याप्त रूपमा जोडिएका छैनन्। अहिले हाम्रो धेरै ऊर्जा समूहगत प्रतिस्पर्धामा खर्च भइरहेको छ। कतिपय ऊर्जा एकअर्कालाई तल तान्नमा खर्च भइरहेको छ। कतिपय ऊर्जा अनावश्यक विवादमा सकिइरहेको छ। यसरी हेर्दा नेपालीको शक्ति दिशाहीन भएर छरिइरहेको जस्तो लाग्छ।
हामीसँग इँटा धेरै छन्, तर घर बनाउन ती इँटाहरू एउटै संरचनामा जोडिन सकेका छैनन्। अब हामीले सोच बदल्नुपर्छ।
एकअर्कालाई हराउनेभन्दा एकअर्काबाट सिक्ने संस्कार विकास गर्नुपर्छ। प्रतिस्पर्धालाई शत्रुतामा होइन, उत्कृष्टतामा बदल्नुपर्छ। संकटमा जागेको भावनालाई संस्थागत शक्तिमा बदल्नुपर्छ। विदेशमा रहेका नेपालीको सीप, पुँजी र अनुभवलाई देशसँग जोड्ने भरपर्दो संरचना बनाउनुपर्छ। युवाको ऊर्जालाई निराशा र आक्रोशमा होइन, सिर्जना र उद्यममा लगाउनुपर्छ।
र सबैभन्दा महत्वपूर्ण कुरा-‘म’ भन्दा ‘हामी’ ठूलो हो भन्ने कुरा फेरि सम्झनुपर्छ। देश बनाउने काम कुनै एक व्यक्ति, एक दल, एक संस्था वा एक पुस्ताले मात्र गर्न सक्दैन। यो साझा यात्राको विषय हो। हामीले हरेक कुरामा एकमत हुनुपर्छ भन्ने पनि होइन। लोकतन्त्रमा असहमति आवश्यक छ। बहस आवश्यक छ। प्रश्न आवश्यक छ। आलोचना पनि आवश्यक छ। तर असहमति र वैमनस्य एउटै कुरा होइनन्। आलोचना र घृणा एउटै कुरा होइनन्। प्रतिस्पर्धा र विभाजन एउटै कुरा होइनन्।
हामीले यिनको सीमा बुझ्न सक्यौँ भने हाम्रो ऊर्जा सही ठाउँमा लगाउन सक्छौँ। जब हाम्रो जनशक्ति, प्रवासी शक्ति, प्राकृतिक स्रोत, उद्यमशीलता, ज्ञान, प्रविधि र युवाको ऊर्जा एउटै राष्ट्रिय उद्देश्यसँग जोडिन थाल्छ, त्यस दिन नेपाल कमजोर सम्भावनाको देश मात्र रहने छैन। सम्भावनालाई परिणाममा बदल्न सक्ने शक्तिशाली नेपाल बन्ने आधार तयार हुनेछ।
त्यो दिन नेपाललाई बाहिरबाट कसैले बलियो बनाइदिने प्रतीक्षा गर्नुपर्दैन। नेपाली आफैँ आफ्नो शक्ति चिन्न र त्यसलाई सही दिशामा प्रयोग गर्न सक्षम हुनेछन्। सायद हामीलाई अहिले चाहिएको कुरा नयाँ शक्ति होइन। हामीसँग भएको शक्तिलाई चिन्ने, जोड्ने र सही दिशामा लगाउने संस्कार हो। र त्यो संस्कारको सुरुवात ‘म’ बाट होइन, ‘हामी’ बाट हुनुपर्छ।
त्यसपछि मात्रै हामीले भन्न सक्नेछौँ- हामीसँग शक्ति थियो, हामीले त्यसलाई छरिन दिएनौँ; जोड्यौँ, परिचालन गर्यौँ र आफ्नो देश, समाज र भावी पुस्ताको भविष्य निर्माणमा लगायौँ। त्यो दिन साँच्चिकै नेपाल बलियो हुनेछ। र त्यही बलियो नेपालका नागरिक हुनु नेपालीका लागि सबैभन्दा ठूलो भाग्य हुनेछ।



















