
जनकपुरधाम । सिरहाको औरही गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा आफ्नै पार्टीका नेता–कार्यकर्ताको विरोध भएपछि संघीय सरकारका शिक्षा मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेल कार्यक्रमस्थलबाट बाहिरिएका छन् ।
औरही गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सिरहा पुगेका मन्त्री पोखरेल स्थानीय पार्टी नेतृत्वसँग समन्वय नगरेको भन्दै विवादमा परेका हुन् । कार्यक्रममा सिरहाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यसहित बाहिरबाट आएका नेताहरूलाई प्राथमिकता दिइएको तर स्थानीय नेता–कार्यकर्तालाई बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाइएको थियो ।
रास्वपाका एक स्थानीय नेताका अनुसार कार्यक्रमका बारेमा अन्तिम समयमा मात्र स्थानीय नेतृत्वलाई जानकारी गराइएको थियो । कार्यक्रममा पुगेपछि पनि उनीहरूलाई उचित स्थान नदिइएको र अपमानजनक व्यवहार गरिएको उनको आरोप छ ।
औरही गाउँपालिकाका नगर सभापति तथा पत्रकार सन्तोषकुमार यादवलाई समेत कार्यक्रममा आसन ग्रहणका लागि स्थान नदिइएको बताइएको छ । यादवले कार्यक्रमस्थलमा भिडियो खिचिरहेका बेला मन्त्रीसँगै आएका एक व्यक्तिले सुरक्षाकर्मीको सहयोगमा मोबाइल खोस्ने प्रयास गरेपछि विवाद थप चर्किएको ती नेताको दाबी छ ।
कार्यक्रममा सहभागी नेता–कार्यकर्तालाई पीए तथा सुरक्षाकर्मीमार्फत बाहिर निकाल्न खोजिएको भन्दै समेत असन्तुष्टि जनाइएको थियो । जिल्ला समन्वय समितिका नेता दिनेश महतोले पनि स्थानीय पार्टी नेतृत्वमाथि भएको व्यवहारप्रति आपत्ति जनाएका थिए ।
भिडियो खिच्न रोक लगाएपछि नगर सभापति यादवले कार्यक्रममै आपत्ति जनाउँदै बोल्न थालेका थिए । त्यसपछि अन्य नेता–कार्यकर्ताले समेत उनको समर्थन गरेपछि कार्यक्रमस्थलमा केहीबेर होहल्ला भएको बताइएको छ ।
विवादकै बीच मन्त्री पोखरेल सम्बोधनका लागि स्टेजमा पुगे पनि केहीबेरमै कार्यक्रमस्थलबाट बाहिरिएका थिए । पोखरेल दुई दिनदेखि सिरहाका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् । कार्यक्रममा सिरहा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शिव यादव र रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादवसमेत सहभागी थिए ।

























