
काठमाडौं । भोटेकोशी बाढी आएको २० दिन बितिसक्दा पनि रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ र पावरहाउस क्षेत्रमा बेपत्ता श्रमिकको खोजी जारी छ ।
उद्धार टोलीले सुरुङभित्रको भग्नावशेष हटाउँदै खोजी गरिरहेका छन् भने बाढी गएको तीन साता हुन लाग्दा पनि बेपत्ता व्यक्तिका परिवारले अझै आफन्त जीवितै भेटिने आशा मारेका छैनन् । सुरुङभित्रको हरेक मिटरले परिवारको आशा बढाउँदैछ ।
भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनसम्म ठूलो क्षति पुर्याएको थियो । रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेना, आयोजनाका प्राविधिक तथा विदेशी उद्धार टोली परिचालन भएका छन् ।
रसुवागढी आयोजनामा कम्पोजिट क्विक रेस्पोन्स टिमसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ । लाङटाङमा ड्रोन प्रयोग गरी सुरुङभित्र खोजी गरिएको छ ।
चिलिमेमा एक्साभेटर र लोडर प्रयोग गरी भग्नावशेष हटाउने काम भइरहेको छ । त्यहाँ हालसम्म करिब ८५ मिटर सुरुङ सफा गरिएको नेपाली सेनाले जनाएको छ । सुरुङनजिकै खोला वारपार गर्न तुइन जडान गर्ने कामसमेत भइरहेको छ ।
माथिल्लो त्रिशूली–१ मा सेना र आयोजनाका प्रतिनिधिले संयुक्त रूपमा खोजी गरिरहेका छन् । त्रिशूली–३ ‘ए’ को पावरहाउस तथा सुरुङ क्षेत्रमा पनि खोजी जारी छ । त्रिशूली–३ ‘बी’ मा तीनवटा एक्साभेटर र एउटा लोडर प्रयोग गरी आयोजनाको आवासगृह रहेको गहिराइसम्म उत्खनन भइरहेको छ । हालसम्म खोजीका क्रममा केही फेला परेको छैन ।
माथिल्लो त्रिशूली–१ बाट श्रीमान् अजय सिंह बेपत्ता भएपछि धनुषाको कमला नगरपालिका–६ की पूजा साहले तत्काल उद्धार टोली पठाउन सरकार र आयोजना निर्माणमा संलग्न दोसान कम्पनीसँग माग गरेकी छन् । उनले हेलिकोप्टरसहित २०–२५ जना तालिमप्राप्त उद्धारकर्मी परिचालन गर्न आग्रह गरेकी छन् । पहुँच भएका र नभएका पीडितबीच उद्धारमा विभेद भएको उनको गुनासो छ ।
सोही आयोजनामा सर्भे इन्स्पेक्टरका रूपमा कार्यरत रौतहट वृन्दावन–२ का २८ वर्षीय गौरवकुमार राउत पनि बाढीपछि बेपत्ता छन् । अस्पतालमा पहिचान नभएका शव खोजिए पनि उनी भेटिएनन् ।
डीएनए नमुना दिएको दुई हप्ता भइसकेको छ । उनका काका विष्णुदयाल पटेलले १९ दिन बितिसक्दा पनि कुनै खबर नआएको भन्दै सरकारले परिवारलाई लास कि सासको अवस्था स्पष्ट पार्नुपर्ने बताएका छन् ।
उद्धारमा खटिएको सेनाका अनुसार करिब ९ सय बेपत्ता श्रमिकमध्ये केही सुरुङभित्र फसेको हुन सक्ने आशंका छ । तीनवटा सुरुङमा खोजी केन्द्रित गरिएको छ । तर, सुरुङभित्र कति व्यक्ति छन् भन्ने यकिन विवरण छैन । लेदो, पानी, भत्किएका संरचना र साँघुरो मार्गका कारण उद्धार जटिल बनेको छ ।
सरकारका अनुसार बाढीबाट ५ हजार १ सय जना हराएका छन् । हालसम्म मृत्यु हुनेको संख्या एक हजार चार सयनजिक पुगेको छ । बेपत्ता व्यक्तिका १ हजार ७७९ आफन्तले डीएनए नमुना दिएका छन् ।
पूर्वमन्त्री तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख कार्यकारी कुलमान घिसिङले सुरुङको साँघुरिएको भागबाट करिब १२० मिटरभित्र आवाज पठाउँदा इको सुनिएको र चिसो हावा आएको बताएका छन् । उनका अनुसार सुरुङभित्र अघि बढेको हरेक मिटर महत्त्वपूर्ण भएकाले प्राप्त हुने प्रत्येक संकेतले उद्धार टोली र परिवारमा नयाँ आशा जगाएको छ ।

























