बाढी–पहिरोले राजमार्गहरु प्रभावित : कतै पूर्ण अवरोध, कतै एकतर्फी सञ्चालन

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार ०७:५४

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न प्रमुख सडकमा यातायात प्रभावित भएको छ । केही सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ भने जोखिमयुक्त क्षेत्रमा समय तोकेर वा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।

सोमबार बिहान ६ बजेसम्मको विवरणअनुसार काभ्रेपलाञ्चोकतर्फको बीपी राजमार्गमा सवारी सञ्चालनका लागि समय निर्धारण गरिएको छ । खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म निश्चित समयअनुसार सवारी चलाइँदै आएको छ । साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइनेछ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर अन्य सवारी सञ्चालन गरिने व्यवस्था छ ।

Advertisement

रसुवामा भने बाढीका कारण प्रमुख सडकखण्डहरू बढी प्रभावित छन् । त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा भदौ ८ गतेदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ । जिल्लाका अन्य मुख्य सडकखण्डमा पनि भदौ १० गतेदेखि यातायात सञ्चालन हुन सकेको छैन ।

नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । भदौ १ गतेदेखि राति १० बजेबाट बिहान ५ बजेसम्म उक्त सडकखण्डमा यातायात बन्द गरिएको हो । त्यस्तै, पासाङ ल्हामु सडकखण्डको विदुर नगरपालिका–१० सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ ।

धादिङको पृथ्वी राजमार्ग पनि पहिरोका कारण प्रभावित बनेको छ । बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गतेदेखि सडक पूर्ण रूपमा बन्द छ । सोही राजमार्गअन्तर्गत बेनिघाट रोराङ–१० ज्वाडखोला र शीतलबजार क्षेत्रमा भने पहिरो हटाएर एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको छ ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा सडक मर्मतको काम भइरहेकाले सवारी चाप र सडकको अवस्थाअनुसार एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।

गण्डकी प्रदेशतर्फ मनाङको चामे–बेंसीसहर सडकखण्डमा पनि यातायात पूर्ण रूपमा सहज हुन सकेको छैन । नासो गाउँपालिका–३ धारापानीमा भदौ २५ गतेदेखि सडक निर्माणको काम जारी रहेकाले हाल साना सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइएको छ ।

सडक विभागले वर्षायाममा बाढी, पहिरो तथा सडक निर्माणका कारण अवरुद्ध हुने र एकतर्फी सञ्चालनमा रहेका सडकमा यात्रा गर्दा अवस्थाको जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×