बालबालिकामा लगानी भविष्यका लागि : प्रधानमन्त्री

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २९, सोमबार १२:३७
बाढी प्रभावितलाई प्रधानमन्त्रीको ढाडस: ‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्य निर्माणका लागि भएको बताएका छन् ।

राष्ट्रिय बाल दिवस २०८३ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकाको सुख, समृद्धि, सुस्वास्थ्य, सफलता र उज्ज्वल भविष्यको कामना गरेका छन् । यस वर्ष ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदैछ ।

Advertisement

प्रधानमन्त्री शाहले बालबालिकाको वर्तमान सुरक्षित, अधिकारसम्पन्न र बालमैत्री बनाउन सके मात्रै समृद्ध राष्ट्रको आधार तयार हुने बताए । नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ अनुमोदन गर्दै भेदभावरहित व्यवहार, बालबालिकाको सर्वोत्तम हित, जीवन र विकासको अधिकार तथा विचार व्यक्त गर्ने अधिकारप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको उनले स्मरण गरेका छन् ।

यी अधिकारलाई नेपालको संविधानको धारा ३९, राष्ट्रिय बालबालिका नीति २०८० र बालबालिकासम्बन्धी ऐन २०७५ ले सुनिश्चित गरेको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री शाहले अबको प्राथमिकता संविधान र कानुनले सुनिश्चित गरेका बालअधिकारलाई प्रत्येक बालबालिकाले दैनिक जीवनमै अनुभूति गर्ने अवस्था सिर्जना गर्नु रहेको बताएका छन् । त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व आवश्यक रहेको उनको भनाइ छ ।

उनका अनुसार संघले नीति, कानुनी तथा संस्थागत आधार सुदृढ गर्ने, प्रदेशले समन्वय र सेवा विस्तार गर्ने तथा स्थानीय तहले बालबालिकाको नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माणमा नेतृत्व लिनुपर्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×