
काठमाडौं । प्राकृतिक विपद् तथा आपत्कालीन सहयोगका लागि स्थापित प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने रकम १३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल कोषको खातामा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात छ ।
स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकम निरन्तर जम्मा भइरहेकाले कोषमा मौज्दात रकम बढेको हो । कार्यालयका अनुसार कोषको रकम विभिन्न ९ वटा वाणिज्य बैंकमा नेपाली मुद्रातर्फ १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ रहेको छ। यसका साथै दुई वटा वाणिज्य बैंकमा गरी कुल २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात छ ।
यसअघि विपद् व्यवस्थापन तथा राहत कार्यका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब रुपैयाँ निकासा गरिसकिएको छ । बाँकी रहेको रकम विपद्पछिको पुनः स्थापना तथा राहत कार्यका लागि सुरक्षित राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

























