डेभिड वार्नरले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३०, मंगलबार १५:१७
डेभिड वार्नरले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने

काठमाडौं । अस्ट्रेलियाका अनुभवी स्टार ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन् । काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत ३९ वर्षीय वार्नरलाई टोलीमा अनुबन्ध गरिएको औपचारिक घोषणा गरेको हो । वार्नरको आगमनसँगै एनपीएलमा सहभागी हुने सबैभन्दा चर्चित अन्तर्राष्ट्रिय क्रिकेटरमध्ये एकका रूपमा उनको नाम थपिएको छ ।

आक्रामक बायाँ हाते ओपनर वार्नर अस्ट्रेलियाका सफल आधुनिक क्रिकेटरमध्ये एक हुन् । उनले अस्ट्रेलियालाई सन् २०१५ र २०२३ को एक दिवसीय विश्वकप तथा २०२१ को टी–२० विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी विश्व टेस्ट च्याम्पियनसिप उपाधि जित्ने अस्ट्रेलियाली टोलीका सदस्यसमेत हुन् ।

Advertisement

वार्नरले अस्ट्रेलियाका लागि ११० टी–२० अन्तर्राष्ट्रिय खेलमा ३ हजारभन्दा बढी रन बनाएका छन् । समग्र टी–२० क्रिकेटमा भने उनको प्रदर्शन अझ प्रभावशाली छ । उनले ४३९ खेलबाट १४ हजारभन्दा बढी रन बनाइसकेका छन्, जसमा १० शतक र ११८ अर्ध शतक छन् । फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव बोकेका वार्नरले इन्डियन प्रिमियर लिग, बिग बास लिग, पाकिस्तान सुपर लिग, द हन्ड्रेड, मेजर लिग क्रिकेट, बंगलादेश प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग र भाइटालिटी ब्लास्टलगायत प्रतियोगितामा खेलिसकेका छन् ।

सन् २०१६ मा उनको कप्तानीमा सनराइजर्स हैदराबादले पहिलो पटक आइपिएलको उपाधि जितेको थियो । वार्नरले सन् २०२४ मा अस्ट्रेलियाका लागि अन्तिम टेस्ट खेलेका थिए । सोही वर्ष उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि संन्यास लिए । २०२४ को टी–२० विश्वकपमा अस्ट्रेलियाको यात्रा समाप्त भएपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट समेत आफ्नो खेलाडी जीवन टुंग्याउने घोषणा गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×