
विराटनगर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकखण्डमा ट्रक र यात्रुवाहक हायस माइक्रोबस आपसमा ठोक्किँदा १७ जना घाइते भएका छन् । आज (बुधबार) बिहान १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना. ७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा. ४ ख ५६३५ नम्बरको हायस आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाएको प्रहरीले जनाएको छ । दुर्घटनामा हायस चालक र सहचालकसहित १७ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनालाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।
घाइते हुनेमा काठमाडौं चन्द्रागिरि–१४ की इन्दिरा श्रेष्ठ, रुकमाया श्रेष्ठ र पविना श्रेष्ठ, मोरङ सुन्दरहरैँचा–७ की पवित्रा भट्टराई, मोरङ कानेपोखरी–६ का लबिन चौलागाईं, देवराज विक र रामबहादुर विक, बाँके नेपालगन्ज–३ की लक्ष्मी गिरी, उदयपुर त्रियुगा–३ की रस्मिला दाहाल, मोरङ सुन्दरहरैँचा–६ की जमुना राई र एदुचन्द्र राई, इलाम जोगमाई–१ का सगुन गुरुङ, उदयपुर बेलका–६ का डम्बरबहादुर विक र सुदीप राई, सिन्धुली कमलामाई–१ की सानु थापा तथा काठमाडौं बूढानीलकण्ठ–५ की शान्ति न्यारिका छन् ।



















