कृष्णभिरमा बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार १६:२६

चितवन । चितवनको कृष्णभिरमा नयाँ ट्र्याक खोलेर बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ । त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग बगाएपछि भदौ १४ गते कृष्णभिरमा सडक भासिएर यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो । त्यसपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माणको काम सुरु गरिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक योजना ९पश्चिम खण्ड०का इन्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म नयाँ ट्र्याक निर्माणको काम सम्पन्न हुनेछ । अहिले ग्राभेल बिछ्याउने र नाली निर्माणको काम भइरहेको उनले बताए । ‘साँझसम्ममा सबै काम सक्छौँ,’ ढकालले भने, ’स्थानीय बेनीघाट रोराङ गाउँपालिकाले सडकमा फ्लडलाइट जडान गर्दैछ । यससँगै रातिमा पनि सवारी सञ्चालन गर्न सहज हुनेछ ।’

Advertisement

पूर्वाधार विकास मन्त्रालयले बुधबार जारी गरेको सूचनामा बिहीबार बिहान ६ बजेदेखि कृष्णभिरमा पूर्णरूपमा यातायात सञ्चालन गरिने जनाइएको छ । नदी कटानका कारण करिब १०० मिटर सडक क्षतिग्रस्त भएर यातायात अवरुद्ध भएकोमा आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेका अनुसार बुधबार साँझसम्म काम सम्पन्न भए रोकिएका सवारीसाधनलाई बुधबार नै पार गराइनेछ । बिहीबार बिहानदेखि भने दुईतर्फी रूपमा नियमित यातायात सञ्चालन गरिने उनले बताए ।

कृष्णभिरमा यातायात सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रोकिएका सवारीसाधन पनि गन्तव्यतर्फ पठाउन सहज हुनेछ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभिरमा यातायात सञ्चालन भए तत्कालका लागि तुइन खोलामा आंशिक रूपमा सडक बन्द गरी भइरहेको पहिरो रोकथामको काम स्थगित गरिने बताए ।

कृष्णभिरमा लामो समयदेखि सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन राजधानी आउजाउ गर्न सकेका छैनन् । सडक अवरोधका कारण काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्तिमा समेत असर परेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×