मोरङ–३ को जग्गा विवाद समाधान प्रक्रिया अघि बढेको छः सांसद कार्की

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार १६:४९

काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद गणेश कार्कीले आफ्नो क्षेत्रमा वर्षौंदेखि बल्झिँदै आएको जग्गा विवाद समाधानका लागि तीन चरणको प्रक्रिया अघि बढाइएको बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले समस्या समाधानको प्रक्रिया अघि बढिरहेकाले स्थानीय बासिन्दालाई नआत्तिन र बिचौलियाको प्रभावमा नपर्न आग्रह गरेका छन् ।

उनका अनुसार पहिलो चरणमा सुकुमबासी समस्या समाधान, दोस्रो चरणमा ऐलानी जग्गा व्यवस्थापन र तेस्रो चरणमा सट्टाभर्ना तथा दोहोरो स्वामित्वको समस्या निरूपण गरिनेछ । कार्कीले यस प्रक्रियाका लागि राज्यले तोकेको नियमित राजस्व तथा शुल्कबाहेक कुनै अतिरिक्त रकम नलाग्ने स्पष्ट पारेका छन् । ‘तपाईंहरूसामु अनेक मान्छे र समूह आउलान्, कसैको उक्साहटमा नलाग्न र बिचौलियाको प्रभावमा नपर्न विशेष अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

Advertisement

वर्षौंदेखि भूमिमा बसोबास गर्दै आएका नागरिकको हक र न्यायलाई प्राथमिकतामा राखेर समस्या समाधान खोजिने उनको भनाइ छ । हालको कानुनी व्यवस्थाले ऐलानी र सट्टाभर्नासम्बन्धी सबै समस्या सम्बोधन गर्न नसक्ने भएकाले कानुन संशोधनको प्रक्रिया अघि बढाइएको कार्कीले बताएका छन् । वन क्षेत्रमा परेका जग्गा तथा धनीपुर्जा छानबिनसम्बन्धी कानुनी जटिलता समाधान गर्न ‘केही नेपाल ऐन संशोधन विधेयक’को मस्यौदा वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयमा अन्तिम चरणमा पुगेको र छिट्टै संसद्मा दर्ता हुने उनले जानकारी दिएका छन् ।

नागरिकका समस्या समाधानका लागि आफू सम्बन्धित मन्त्रीहरूसँग निरन्तर संवाद र छलफलमा रहेको बताउँदै कार्कीले जनतालाई पटक–पटक मन्त्रालय धाउनुपर्ने अवस्था आउन नदिने बताएका छन् । जनताले गरेको विश्वासप्रति आफू सचेत रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘तपाईंहरूको भरोसामाथि प्रश्न उठ्ने अवस्था आउन नदिन यो विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छु, चुनावमा तपाईंहरूको छनोट गलत थियो भनेर शिर झुक्न दिने छैन ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×