
इटहरी । सुनसरीको इटहरीमा असोज १४ गतेदेखि सीप तथा रोजगार मेला आयोजना गरिने भएको छ । युवा जनशक्तिको ऊर्जा एवं सीपलाई स्वदेशमा उपयोगको वातावरण सिर्जना गर्ने उद्देश्यले असोज १४ देखि २० गतेसम्म मेला आयोजना गर्न लागिएको युवा तथा श्रम मन्त्रालयले जनाएको छ ।
‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरी देशभर सीप तथा रोजगार मेला आयोजना गर्ने तयारी थालिएको मन्त्रालयले जनाएको छ । उक्त निर्देशिकाबमोजिम मेला आयोजना तथा सञ्चालनका लागि युवा, श्रम तथा रोजगारमन्त्रीको संयोजकत्वमा निर्देशन तथा समन्वय समिति रहने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ ।
‘मेलालाई सफल बनाउन सबै सरोकार भएका निकायहरूबाट प्रचलित कानुनबमोजिम वित्तीय, प्राविधिक तथा जनशक्तिलगायतको आवश्यक सहयोग र योगदान जुटाइनेछ । यसका लागि आवश्यक सहकार्य, समन्वय तथा सुरक्षा व्यवस्थापनका लागि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालय सुनसरीसँग पत्राचार गरी अनुरोध गरिनेछ’, मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निर्देशिकाबमोजिमको कार्यान्वयन र सहजीकरण समितिले मेलाको समग्र व्यवस्थापन, सञ्चालन र कार्यान्वयन निर्देशिकाको दफा ७ बमोजिम गठित ‘कार्यान्वयन, समन्वय र सहजीकरण समिति’ ले गर्नेछ । निजी क्षेत्र, उद्योग–प्रतिष्ठान, शैक्षिक तथा तालिम प्रदायक संस्था, विकास साझेदार, युवा, श्रम तथा रोजगार मन्त्रालय र मातहतका निकाय एवं अन्य सरकारी निकायले स्टल र डेस्क राखी सूचना तथा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ मन्त्रालयले जनाएको छ ।
तीनै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, विकास साझेदार संस्था, रोजगारदाता सङ्घ–महासङ्घ, उद्योगी व्यवसायी तथा शैक्षिक एवं तालिम प्रदायक संस्थाहरूको सहकार्य र समन्वयमा मेला सञ्चालन हुनेछ । मेलामा सीप, रोजगारी, उद्यमशीलता, स्वरोजगार प्रवर्द्धन गर्दै श्रमको सम्मान र स्वदेशमै रोजगारीको अवसर अभिवृद्धि गर्ने यस अभियानमा सम्बद्ध सबै सरोकार भएका निकायहरूलाई सहभागिताका लागि अनुरोध गरिएको छ ।
यस सीप तथा रोजगार मेलामार्फत रोजगारदाताको वास्तविक जनशक्ति माग तथा रिक्त पद पहिचान र प्रमाणीकरण गर्ने, रोजगार खोजकर्ताको योग्यता, सीप, अनुभव र रुचिअनुसार रोजगार मिलान गर्ने तथा आवश्यक सीप परीक्षण, तालिम, प्रमाणीकरण, करियर परामर्श र उद्यमशीलता सेवासँग जोड्ने लक्ष्य राखिएको छ ।
मेला स्थलमा सूचना तथा सहायता कक्ष, रोजगारदाता कक्ष, अन्तर्वार्ता क्षेत्र, सीप परीक्षण तथा प्रमाणीकरण डेस्क, तालिम तथा उद्यमशीलता सिफारिस सेवा, श्रम कानुन तथा सामाजिक सुरक्षा जानकारी, गुनासो सुनुवाइ, प्राथमिक उपचार र आवश्यक सहजीकरणको व्यवस्था गरिनेछ ।

























