गणेशमानको राजनीतिक योगदान स्मरण गर्दै नेपाली कांग्रेस

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार ०७:३१

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज (शुक्रबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले सिंहको योगदान र प्रजातान्त्रिक आन्दोलनमा उनले खेलेको भूमिकाको स्मरण गर्दै कार्यक्रम आयोजना गरेका छन् । प्रजातन्त्र स्थापनाका लागि जीवनभर संघर्ष गरेका सिंहलाई नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाका प्रतीकका रूपमा स्मरण गरिन्छ । विशेषगरी २०४६ सालको जनआन्दोलनमा विभिन्न राजनीतिक शक्तिलाई एउटै अभियानमा जोडेर प्रजातन्त्र पुनःस्थापनाका लागि नेतृत्व गरेका उनको भूमिका महत्वपूर्ण मानिन्छ ।

Advertisement

विक्रम संवत १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । राणाशासनविरुद्धको आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका उनी प्रजा परिषद्को सदस्य हुँदै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएका थिए ।

२००७ सालको क्रान्तिअघि भद्रगोल जेलबाट भागेर भारत पुगेका सिंहको त्यहाँ बीपी कोइरालासँग राजनीतिक सम्बन्ध स्थापित भएको थियो । २००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्व गरेका उनी २००७ सालको क्रान्तिका प्रमुख नेतामध्ये एक थिए । वीरगन्ज मोर्चामा उनले सशस्त्र संघर्षको नेतृत्वसमेत गरेका थिए ।

२०१५ सालको पहिलो आमनिर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री बनेका सिंह २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि लामो समय काराबासमा परे । सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा गरी उनले करिब आठ वर्ष बन्दी जीवन बिताएका थिए ।

२०२५ सालमा बीपी कोइरालासँगै सुन्दरीजलबाट रिहा भएपछि सिंहले प्रवासमा रहेर प्रजातान्त्रिक आन्दोलन र संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरे । २०३३ सालमा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि पनि उनले पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक संघर्षलाई निरन्तरता दिए ।

२०४६ सालको जनआन्दोलन सिंहको राजनीतिक जीवनको महत्वपूर्ण मोड बन्यो । उनले नेपाली कांग्रेससहित विभिन्न राजनीतिक शक्तिलाई प्रजातन्त्र पुनःस्थापनाको साझा आन्दोलनमा जोड्दै आन्दोलनको नेतृत्व गरे । आन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरे पनि सिंहले प्रस्ताव अस्वीकार गर्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए ।

सत्ता प्राप्तिको अवसरभन्दा राजनीतिक उद्देश्य र सहकर्मीलाई प्राथमिकता दिएको उक्त घटनालाई सिंहको राजनीतिक त्यागसँग जोडेर स्मरण गरिन्छ । उनको स्मृति दिवसका अवसरमा कांग्रेसका नेता तथा कार्यकर्ताले सिंहले देखाएको राजनीतिक निष्ठा, संघर्ष र त्यागलाई सम्झिरहेका छन् । सिंगो पार्टी नेपाली कांग्रेसले उनको राजनीतिक योगदान स्मरण गर्दैछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×