कोशीमा संविधान दिवसको तयारी पूरा

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार १३:४७

विराटनगर । कोशी प्रदेश सरकारले असोज ३ गते शनिबार मनाइने संविधान दिवसको मूल समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार विराटनगरस्थित शहीद रंगशालामा हुने मूल समारोहको तयारी पूरा भएको हो ।

Advertisement

संविधान दिवसका अवसरमा शनिबार बिहान साढे ६ बजे विराटनगरको आदर्श माध्यमिक विद्यालयअगाडि भेला भएर प्रभातफेरी गरिनेछ । प्रभातफेरीपछि शहीद रंगशालामा प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्य तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा मूल समारोह हुनेछ ।

मूल समारोहमा विभिन्न १६ जातजाति तथा भाषाभाषीका सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ। यस्तै, खेलकौशल, राष्ट्रिय गीत प्रस्तुति र पुरस्कार वितरणलगायतका कार्यक्रम राखिएको प्रदेश सरकारले जनाएको छ ।

संविधान दिवसकै अवसरमा शुक्रबार बिहान प्रदेश खेलकुद बोर्डको आयोजनामा ‘कोशी दौडन्छ’ रोड रेस तथा म्याराथन दौड सम्पन्न भएको छ । रोड रेसको उद्घाटन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए ।

यसैगरी, सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा प्रदेश सरकारको भूमिका’ विषयमा खुला निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका दुर्गाप्रसाद नेपाल प्रथम, काठमाडौंकी रविना महर्जन द्वितीय र धादिङका सम्राट श्रेष्ठ तृतीय भएका छन् । ओखलढुंगाकी निहारिका धमला, संखुवासभाकी सावित्रा पन्त सुवेदी र इटहरीकी अनुशा रावतले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

संविधान दिवसका अवसरमा अन्तरसंवाद तथा भिडियो प्रतियोगितासमेत आयोजना गरिने प्रदेश सरकारले जनाएको छ । यस्तै, असोज ४ गते स्वास्थ्य मन्त्रालयको अगुवाइमा रक्तदान तथा पर्यटन, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा वृक्षरोपण कार्यक्रम गरिनेछ ।

संविधान दिवसका कार्यक्रमको समग्र समन्वय तथा अनुगमन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×