
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन आगामी असोज ६ गते न्यूयोर्क जाने भएका छन् ।
प्रधानमन्त्री शाहले असोज ८ गते महासभाको सामान्य बहसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै जनाएको छ ।
न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।
यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनाल असोज ५ गते न्यूयोर्क जाने भएका छन् । उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनेछन् । साथै, उनले विभिन्न देशका समकक्षी तथा अन्य उच्चपदस्थ अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्याञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर रायसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् । प्रधानमन्त्री शाह असोज १० गते काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

























