
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई अधिकारीमाथि खेलमा मिलेमतो, अनियमितता तथा ठगीसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई पक्राउ गरी अनुसन्धान थालेको हो । उनीहरूलाई शुक्रबार एन्फा मुख्यालयबाट पक्राउ गरिएको थियो ।
सीआईबीका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पत्र र वसन्त रिजालले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो । अनुसन्धानका क्रममा ललितपुर महानगरपालिका–३ पुल्चोकका ६० वर्षीय जोशी र ललितपुर महानगरपालिका–५ लगनखेल, थसीखेलका ५५ वर्षीय पाण्डे पक्राउ परेका हुन् ।
उनीहरूमाथि फुटबल खेलमा प्रतिस्पर्धीसँग मिलेमतो गरेको तथा त्यससँग सम्बन्धित अनियमितता र ठगीसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउपछि उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट अनुमति मागेको थियो ।
आइतबार जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले दुवै जनालाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सीआईबीले अनुसन्धानका क्रममा उनीहरूमाथि लागेको आरोप र घटनासँग जोडिएका अन्य पक्षका बारेमा थप विवरण संकलन गरिरहेको छ ।



















