
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संगठन विस्तारसँगै पार्टी एकताको पहल, विपद्मा जनपरिचालन र सरकारका कामकारबाहीविरुद्ध राजनीतिक आन्दोलनलाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय गरेको छ ।
नेकपाको केन्द्रीय संयोजन समिति बैठकले आगामी असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने ‘राष्ट्रिय जनअभियान’ सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानमार्फत पार्टी संगठन निर्माण, सदस्यता वितरण तथा नवीकरण र जनपरिचालनलाई तीव्र बनाइने भएको छ ।
पार्टीका अनुसार अभियान केन्द्रदेखि गाउँ, टोल हुँदै जनताको घरदैलोसम्म सञ्चालन गरिनेछ । अभियानको विस्तृत कार्ययोजना भने दसैँअघि बस्ने केन्द्रीय सचिवालय बैठकले पारित गर्नेछ ।
बैठकले समान विचार, सिद्धान्त र कार्यक्रम भएका अन्य कम्युनिस्ट पार्टीसँग एकता तथा सहकार्यको प्रक्रिया अघि बढाउन तीन सदस्यीय वार्ता समिति पनि गठन गरेको छ । समितिको संयोजकमा अग्नि सापकोटा तथा सदस्यमा पम्फा भुसाल र गंगानारायण श्रेष्ठ रहेका छन् । समितिले विभिन्न कम्युनिस्ट पार्टीसँग संवाद गरी एकता र सहकार्यका लागि सहमति जुटाउने जिम्मेवारी पाएको छ ।
यसैगरी, बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा पार्टीका सबै तहका कमिटी, युवा तथा विद्यार्थी संगठनलाई परिचालन गर्ने निर्णय बैठकले गरेको छ । यसअघि गठन गरिएको समन्वय समितिलाई थप सक्रिय बनाउँदै प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने र सरकारलाई विपद् व्यवस्थापनमा थप जिम्मेवार बनाउन पहल गर्ने निर्णय पनि भएको छ ।
प्राकृतिक विपद्का कारण यसअघि तय भएको महाधिवेशन तथा वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशन प्रभावित भएपछि नेकपाले महाधिवेशनको कार्यतालिका पनि पुनःनिर्धारण गर्ने भएको छ । पुरानो कार्यतालिकाअनुसार अघि बढ्न कठिनाइ भएको निष्कर्ष निकाल्दै आगामी केन्द्रीय सचिवालय बैठकबाट नयाँ कार्यतालिका र कार्ययोजना तय गरिने भएको हो ।
बैठकले वर्तमान सरकारका कामकारबाही, बढ्दो महँगी, भ्रष्टाचार र सुशासनको अभावप्रति असन्तुष्टि जनाउँदै जनतामा निराशा बढेको निष्कर्षसमेत निकालेको छ । सुकुम्बासी, मिटरब्याज पीडितलगायत सीमान्तकृत समुदायका समस्या समाधान हुन नसकेको भन्दै राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका लागि व्यवस्थित आन्दोलन अघि बढाउने निर्णय बैठकले गरेको छ ।
आन्दोलनको स्वरूप, कार्यक्रम र कार्ययोजनाबारे भने आगामी केन्द्रीय सचिवालय बैठकले थप निर्णय गर्ने नेकपाले जनाएको छ । संयोजन समिति बैठकका निर्णयअनुसार नेकपाले अब संगठन विस्तार र जनपरिचालनसँगै कम्युनिस्ट पार्टीहरूबीच एकताको पहल, विपद् प्रभावित क्षेत्रमा सक्रियता र सरकारविरुद्ध राजनीतिक दबाब बढाउने रणनीतिलाई एकसाथ अघि बढाउने छ ।

























