
भोजपुर । आधुनिक रंगशाला निर्माण भएसँगै भोजपुरमा खेल गतिविधि बढ्न थालेको छ। खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएको भोजपुर अब खेल पूर्वाधारका हिसाबले पनि सुदृढ बन्दै गएको छ।
भोजपुर नगरपालिका–७ कोदारमा राष्ट्रियस्तरको रंगशाला निर्माण भएपछि जिल्लामा खेल क्षेत्रको विकासका लागि थप आधार तयार भएको हो। पाँच हजार दर्शक अट्ने क्षमताको रंगशाला कोशी प्रदेश सरकारको रु १४ करोड पाँच लाखको लागतमा निर्माण भएको हो। करिब सात हजार वर्गमिटर क्षेत्रमा संरचना निर्माण गरिएको रङ्गशाला २५ रोपनी क्षेत्रफलमा फैलिएको छ। यहाँ सातवटा प्यारापिट निर्माण गरिएका छन्।
विसं २०६४ मा तत्कालीन जिल्ला विकास समिति बोर्डले जिल्ला खेलकुद परिषद्मार्फत ५५ लाखमा रंगशालाका लागि जग्गा खरिद गरेको थियो। प्रारम्भिक चरणमा केही बजेट विनियोजन गरेर स्तरोन्नतिको काम अघि बढाइए पनि पर्याप्त स्रोतको अभावमा योजना लामो समय अधुरै थियो।
निर्माण सम्पन्न भएपछि अब भोजपुरमै राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सहज भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्दै आएको भोजपुरमा विगतमा पर्याप्त खेल पूर्वाधारको अभाव थियो। दीर्घकालीन योजना र लगानीको कमीका कारण खेलाडीले नियमित प्रशिक्षण, स्तरीय प्रतियोगिता तथा आवश्यक सुविधा पाउन कठिनाइ भोग्दै आएका थिए।
भोजपुरकै मिरा राईले अल्ट्रा दौडमा अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान बनाउन योगदान पुर्याएकी छन्। ब्याडमिन्टनतर्फ नङशलादेवी तामाङ, रत्नजित तामाङ, सरादेवी तामाङ, विकास श्रेष्ठ, विवेक श्रेष्ठ र नवीन श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका छन्। भलिबलतर्फ जोसन श्रेष्ठ, दुर्जकुमार राईलगायत खेलाडीले पनि भोजपुरको नाम राष्ट्रियस्तरमा चिनाएका छन्।
स्थानीय खेलप्रेमीका अनुसार आधुनिक सुविधासहितको रंगशाला निर्माण भएपछि युवामा खेलप्रतिको आकर्षण बढेको छ। जिल्लामै ठूला प्रतियोगिता आयोजना गर्न सकिने भएपछि खेल गतिविधि विस्तार हुनुका साथै नयाँ प्रतिभाले अवसर पाउने अपेक्षा गरिएको छ।



















