भारी वर्षाको जोखिम भएकाले सतर्क रहन मौसमविद्को आग्रह

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार १४:२५

काठमाडौं।आगामी शनिबारसम्म विभिन्न स्थानमा वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको जनाउँदै बाढी, पहिरो तथा भारी वर्षाको सम्भावित असरबाट जोगिन सतर्कता अपनाउन मौसमविदहरुले आग्रह गरेका छन्। नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले अहिलेको अवस्थालाई लिएर अत्यधिक डराउनु पर्ने अवस्था नरहेको स्पष्ट पार्दै मौसमसम्बन्धी सूचनालाई भने नियमित रूपमा अद्यावधिक गर्नुपर्ने बताए।

‘वर्षा हुने सम्भावना देखिएकाले सतर्कता अपनाउनु पर्ने आवश्यकता छ, तर अत्यधिक डराउनु पर्ने अवस्था देखिएको छैन,’ उनले भने, ‘मौसम छिनछिनमा परिवर्तन हुनसक्ने भएकाले न्यूनचापीय प्रणालीको निरन्तर निगरानी गरिरहेका छौं र यसको प्रभावबारे नियमित रूपमा अद्यावधिक सूचना सार्वजनिक गर्दै जानेछौं।’ उनका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली गहिरो न्यूनचापीय प्रणालीमा परिणत भई भारतको उत्तरी आन्ध्र प्रदेश तथा दक्षिणी ओडिसा आसपास जमिनमा प्रवेश गरेको छ। उक्त प्रणालीका कारण जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेकाले वर्षाको गतिविधि बढेको उनले बताए।

Advertisement

हाल कर्णाली प्रदेशदेखि पूर्वी भू–भागसम्म सामान्यतया बादल लागेको र गण्डकीको पूर्वी भू–भाग, लुम्बिनी, बागमती, कोशी तथा मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको उनले जानकारी दिए। पछिल्लो २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको तथा पाल्पा, अर्घाखाँची र कपिलवस्तु आसपास भारीदेखि धेरै भारी वर्षा भएको छ। ती क्षेत्रमा अधिकतम करिब १६४ मिलिमिटरसम्म वर्षा भएको उनको भनाइ छ।

मौसमविद् ढकालका अनुसार आज लुम्बिनी प्रदेशदेखि पूर्वी भू–भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने तुलनात्मक रूपमा कम भू–भागमा वर्षा हुने देखिएको छ। ‘आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका तराई भू–भागमा केही स्थानमा सामान्य भन्दा केही बढी हावाहुरी चल्न सक्ने सम्भावना देखिएको छ,’ उनले भने, ‘शुक्रबार वर्षाको गतिविधि अझ बढी हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता आवश्यक रहेको छ।’

शुक्रबार कर्णाली प्रदेशदेखि पूर्वी भू–भागसम्म वर्षा केन्द्रित हुने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ। मौसम पूर्वानुमानमा सुन्तला रङले देखाइएका क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु पर्ने उनले बताए। मौसमविद् ढकालले शनिबार भने वर्षाको गतिविधि क्रमशः पश्चिमतर्फ केन्द्रित हुने देखिएको र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको जानकारी दिए। उनका अनुसार ती क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको र गण्डकीदेखि पश्चिमका विभिन्न भू–भागमा वर्षाको गतिविधि बढ्ने सम्भावना छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×