
विराटनगर । लगातारको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै कोशी प्रदेशका विभिन्न जिल्लामा रात्रिकालीन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
स्थानीय जिल्ला प्रशासन कार्यालय तथा जिल्ला सुरक्षा समितिहरूले आ–आफ्नो क्षेत्रमा निश्चित समयका लागि सवारी आवागमन बन्द गर्ने निर्णय गरेका हुन् । कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा र सोलुखुम्बु जिल्लामा रात्रिकालीन सवारी साधन सञ्चालनमा कडाइ गरिएको छ ।
इलाम र पाँचथरमा बिहीबारदेखि असोज ११ गतेसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । ताप्लेजुङमा पनि सोही अवधि र समयमा भित्री सडकमा सवारी आवागमन बन्द गरिएको छ भने मेची राजमार्गमा आवश्यक परे मात्र सञ्चालन गर्न दिइने जनाइएको छ ।
यस्तै, धनकुटामा ११ गतेसम्म र तेह्रथुममा असोज ८ र ९ गते बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । संखुवासभामा असोज ९ देखि ११ गतेसम्म मुख्य राजमार्ग बाहेकका भित्री सडकमा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको छ ।
सोलुखुम्बुमा भने अर्को आदेश नभएसम्मका लागि बेलुकी हरेक दिन ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । अन्य प्रदेशका जिल्लाहरूमा पनि यात्रा सहज र सुरक्षित बनाउन समय सीमा तोकिएको छ । सिन्धुलीमा असोज ८ देखि ११ गतेसम्म बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
धादिङ र चितवनमा भने असोज ८ र ९ गते बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन नपाइने गरी निर्णय गरिएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले नागरिकहरूलाई सतर्कता अपनाउन र तोकिएको समयमा यात्रा नगर्न आग्रह गरेका छन् ।



















