सप्तकोशीमा बहाव बढ्यो, सतर्क रहन आग्रह

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार २०:२५

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव बढेर बिहीबार साँझ १ लाख ८५ हजार १३० क्युसेक पुगेको छ। बिहान ९ बजेदेखि कोशी नदीमा निरन्तर पानीको बहाव बढिरहेको हो।

बहाव बढेसँगै पूर्वी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५६ मध्ये २३ वटा ढोका खोलिएका छन् ।

Advertisement

पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि कोशी ब्यारेजमा पश्चिमतर्फको रातो बत्ती बालेर सर्वसाधारणलाई सचेत गराउने गरिन्छ । २ लाख क्युसेक नाघेपछि पूर्वतर्फ र ३ लाख क्युसेक पुगेपछि मध्यभागमा समेत रातो बत्ती बाल्ने व्यवस्था छ ।

कोशी ब्यारेजको पानी धान्ने क्षमता ९ लाख ५० हजार क्युसेक रहेको बताइए पनि ब्यारेजको माथिल्लो क्षेत्रमा बालुवा थुप्रिँदा जोखिम बढ्ने गरेको छ ।

२०६५ भदौ २ गते १ लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यसबेला कोसी गाउँपालिकाका चारवटा बस्तीमा बाढी पसेको थियो भने ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए ।

तटबन्ध पुनः निर्माण गरिए पनि सप्तकोशीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रमा जोखिम कायमै रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×