‘जलवायु संकटको आवाज विश्वमञ्चमा’

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार १४:२३
जलवायु वित्तमा सहज पहुँच सुनिश्चित गर्न प्रधानमन्त्री शाहको जोड (सम्बोधनको पूर्ण पाठ)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार गरेको सम्बोधनमा जलवायु परिवर्तनबाट बढ्दो जोखिम र त्यसले नेपालमा पारेको असरलाई विश्व समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गरेको परराष्ट्र मामिलाका विज्ञहरूले बताएका छन्।

प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली विपद्लाई नेपालमा मात्र सीमित घटना नभई विश्वकै लागि जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्नुले नेपालले भोगिरहेको तत्कालको समस्या विश्वमञ्चमा पुर्‍याउन सफल भएको उनीहरूको भनाइ छ।

Advertisement

नेपालमा जलवायु परिवर्तनको असरलाई ‘हिमाली सुनामी’का रूपमा चिह्न थालिएको विषय पनि शाहले सम्बोधनमा उठाएका थिए। गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको विषयलाई महासभामा तत्कालको संकटसँग जोडेर प्रस्तुत गरिएकाले समग्रमा सम्बोधन सकारात्मक रहेको पूर्वपरराष्ट्रमन्त्री तथा कूटनीतिज्ञहरूले बताएका छन्।

पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनका जोखिमबारे प्रधानमन्त्री शाहले विश्वमञ्चमा उठाएको विषय सान्दर्भिक र प्रभावकारी रहेको बताए। विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका असर कुनै एक देशको प्रयासबाट मात्र समाधान हुन नसक्ने भएकाले सामूहिक प्रयासको आवश्यकतामा जोड दिनु महत्वपूर्ण रहेको उनको भनाइ छ।

‘हामी सरकारमा हुँदा, खासगरी म परराष्ट्रमन्त्री हुँदा, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण भएको समयमा हामीले उहाँलाई जलवायुको प्रत्यक्ष असर देखिएका सगरमाथा र अन्नपूर्ण क्षेत्रमा अवलोकन गराएका थियौँ,’ पूर्वमन्त्री साउदले भने, ‘महासचिव गुटेरेसले जलवायु परिवर्तनको विषय कुनै एक देशको मात्रै चासो र चिन्ताको विषय नभई विश्वको साझा सवाल भएको त्यसबेलै ध्यानाकर्षण गराउनुभएको थियो। ती सवालहरू आज झन् सान्दर्भिक देखिएका छन्। प्रधानमन्त्री शाहको सम्बोधनमा यसलाई थप बल पुगेको छ।’

विश्व व्यवस्थामा गरिबी निवारण र शान्ति कायम गर्ने सन्दर्भमा संयुक्त राष्ट्रसंघको भूमिका अझ प्रभावकारी हुनुपर्ने उल्लेख हुनु पनि सकारात्मक रहेको साउदले बताए। सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले ‘पशुपतिनाथले विश्वको रक्षा गरून् र बुद्धको सन्देशमा विश्व हिँडोस्’ भनेको विषयलाई पनि साउदले नेपालको सांस्कृतिक तथा आध्यात्मिक पक्षसँग जोडिएको सकारात्मक सन्दर्भका रूपमा व्याख्या गरे।

त्रिभुवन विश्वविद्यालय, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका पूर्वप्रमुख प्रा. डा. खड्गबहादुर केसीले प्रधानमन्त्री शाहको सम्बोधनले भोटेकोशी–त्रिशूली बाढी तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटलाई विश्वमञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए। शाहले जलवायु परिवर्तनका कारण नेपालमा आएको विनाशकारी बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै जलवायु न्याय, अन्तर्राष्ट्रिय सहकार्य र विपद् प्रतिरोधी क्षमता निर्माणमा जोड दिएका थिए। उनले नेपाल, भारत र चीनको नेतृत्वमा हिमाली जलवायु प्रतिरोधी संयन्त्र स्थापना गर्न प्रस्तावसमेत गरेका थिए।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्षसमेत रहेका प्रा. डा. केसीका अनुसार सम्बोधनमा भोटेकोशी बाढी र जलवायु परिवर्तनको मारमा नेपाल परेको विषयलाई तत्कालीन अवस्थाको प्रत्यक्ष अनुभूति र मानवीय दृष्टिकोणसहित विश्व समुदायसमक्ष प्रस्तुत गरिएको छ। जलवायु अनुकूलनका लागि नेपाल, भारत र चीनबीच त्रिपक्षीय संयन्त्र निर्माण तथा बहुपक्षीय विश्व सहकार्यको प्रस्ताव आउनु महत्वपूर्ण रहेको उनको भनाइ छ।

‘आधारभूत तहका मानिसका लागि पनि विश्व व्यवस्था र प्रणाली परिचालित हुनुपर्छ भन्ने सन्देश पनि सम्बोधनमा आएको छ,’ प्रा. डा. केसीले भने, ‘विश्वमञ्चमा नेपालको गहकिलो उपस्थिति भएको छ। बहुपक्षीयताप्रति हाम्रो पुरानै प्रतिबद्धता हो, त्यसलाई अझ गहकिलो प्रतिबद्धता व्यक्त भएको छ।’ उनले प्रधानमन्त्री शाहको सम्बोधनले ‘साउथ’ र ‘ग्लोबल नर्थ’ बीचको सहकार्य तथा विकासशील र कमजोर मुलुकका आवाजलाई समेत विश्वमञ्चमा पुर्‍याएको बताए।

जलवायु परिवर्तनको असर नेपालजस्ता मुलुकले भोग्नुमा ऐतिहासिक रूपमा बढी कार्बन उत्सर्जन गर्ने धनी तथा विकसित मुलुकको जिम्मेवारीसमेत रहेको विषय सम्बोधनमा स्पष्ट रूपमा उठाइएको उनको विश्लेषण छ। प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा जोखिम बढिरहेको, यसबाट हिमपहिरो, बाढी र पहिरोलगायतका विपद् बढ्न सक्ने तथा यसको असर सीमापारसम्म पर्ने उल्लेख गरेका थिए। उनले जलवायु वित्त, क्षति तथा नोक्सानीका लागि उपलब्ध कोष र अन्य वित्तीय संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

परराष्ट्रविद् डा. दिनेश भट्टराईले समग्रमा सम्बोधन ठीकै रहेको र उठाउनुपर्ने विषयहरू प्रस्तुत गरिएको बताए। केही अवधारणालाई थप स्पष्ट पारिएको भए अझ राम्रो हुने उनको धारणा छ। नेपालका समसामयिक विषयहरू सान्दर्भिक रूपमा उठाइएको र ‘हिमालयन रेजिलियन्स मेकानिजम’का लागि नेपाल, भारत र चीनको नेतृत्वमा प्रस्ताव हुनु सकारात्मक रहेको उनले बताए। जलवायुको विषय सम्बोधनमा प्रभावकारी रूपमा आएको उल्लेख गर्दै भट्टराईले किसानको खेतमा मल पुग्न नसक्ने तर विश्वमा मिसाइल भने द्रुत गतिमा पुग्ने उदाहरणमार्फत जलवायु न्यायको विषय उठाइएको बताए।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ भारती सिलवालले सम्बोधन अत्यन्त प्रभावशाली रहेको बताइन्। ‘यो विश्वका लागि एउटा गम्भीर चेतावनीको घण्टी हो–यस्तो विश्वका लागि, जुन युद्धमा अल्झिएको छ, जसले वातावरणको विनाशलाई अझ बढाइरहेको छ र शान्तिको कुनै वास्ता नगरी टुक्राटुक्रा गर्दै भूभाग कब्जा गर्ने प्रवृत्तिलाई प्रश्रय दिइरहेको छ,’ भन्ने प्रधानमन्त्री शाहको सन्देश निकै चोटिलो रहेको सिलवालले बताइन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×