
इनरुवा । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ । बहाव बढेपछि कोशी ब्यारेजका ३४ वटा ढोका खोलिएका छन् । लगातारको वर्षाका कारण नदीको जलस्तर बढ्दै गएपछि ब्यारेजमा रातो बत्ती बाल्नुका साथै रातो झण्डासमेत फहराइएको छ ।
शुक्रबार दिउँसो ४ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर प्रतिसेकेन्ड २ लाख ६२ हजार २ सय ३० क्युसेक पानी बगिरहेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । यसअघि ३१ वटा ढोका खुला गरिएको थियो ।
लगातार बहाव बढेपछि ब्यारेजमा रहेका ५२ वटा मूल ढोका र नहरतर्फका ४ वटा गरी कुल ५६ ढोकामध्ये ३४ वटा खोलिएको प्रहरीले खड्काले बताए । नियमअनुसार कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि पश्चिमतर्फ, दुई लाख क्युसेक नाघेपछि पूर्वतर्फ र तीन लाख क्युसेक नाघेपछि मध्यभागमा समेत रातो बत्ती बाल्ने व्यवस्था छ ।
ब्यारेज निर्माण हुँदा नौ लाख ५० हजार क्युसेकसम्म पानीको भारवहन क्षमता राखिएको थियो । तर, ब्यारेजको माथिल्लो भागमा बालुवा जम्मा हुँदा जोखिम बढ्ने गरेको बताइएको छ ।
नदीमा पानीको बहाव अझै बढ्न सक्ने भएकाले ब्यारेज कन्ट्रोल रुमले जलस्तरको अवस्था निरन्तर निगरानी गरिरहेको जनाएको छ । पानीको सतह बढ्दै गएपछि कोशी नदी आसपासका तटीय क्षेत्र र जोखिमयुक्त बस्तीमा उच्च सतर्कता अपनाइएको छ । सम्भावित जोखिमका बारेमा स्थानीयलाई जानकारी गराउन सुरक्षाकर्मीले माइकिङसमेत गरिरहेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सप्तकोशीमा पानीको बहाव निरन्तर बढिरहेको भन्दै नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन् । उनले विशेषगरी नदीबाट बगेर आउने काठदाउरा निकाल्न जाने कार्य जोखिमपूर्ण हुन सक्ने भएकाले त्यस्तो काममा नजान सर्वसाधारणलाई आग्रह गरेका छन् ।
कोशी प्रदेशमा अझै वर्षाको सम्भावना रहेकाले नदीको बहाव तत्कालै घट्ने अवस्था नरहेको सुरक्षा निकायको भनाइ छ । वर्षा र नदीको जलस्तर बढिरहेको अवस्थामा सप्तकोशी आसपासका बासिन्दालाई नदी किनारतर्फ नजान तथा सम्भावित जोखिमप्रति सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

























