बाढी पहिरोले कोशीका ५ जिल्लामा सडक अवरुद्ध

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार १९:२२
तमोर–कोरिडोर

विराटनगर ।  लगातारको वर्षाका कारण पहिरो खस्ने र खोलामा पानीको बहाव बढ्ने क्रम जारी रहेपछि कोशी प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा भित्री सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

वर्षाले सडक क्षति पुर्‍याएपछि सुरक्षालाई ध्यानमा राख्दै धेरैजसो जिल्लामा रातिको समयमा सवारी साधन चलाउनसमेत रोक लगाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पाँचथर, तेह्रथुम, इलाम, ताप्लेजुङ र सोलुखुम्बुका विभिन्न स्थानमा असोज ८ र ९ गते पहिरो झर्ने र खोलामा पानी बढेकाले यातायात ठप्प बनेको छ ।

Advertisement

पाँचथरको तुम्बेवामा नावाखोलामा पानीको बहाव बढेपछि तमोर–कोरिडोर अवरुद्ध छ भने फालेलुङ र याङवरकमा पहिरो जाँदा मेमेङ–जोरपोखरी र मध्यपहाडी लोकमार्ग ठप्प भएको छ । त्यस्तै, तेह्रथुमको लालीगुँरास नगरपालिकामा लेदो र हिलो जमेपछि भित्री कच्ची सडक बन्द भएको छ ।

यसैगरी, इलामका विभिन्न स्थानमा जोगमार्छी र मयुम खोलामा पानीको बहाव बढ्नुका साथै इलाम नगरपालिकामा पहिरो झर्दा तिलकेनी–सिलपुर, नयाँ बजार–फिक्कल र इलाम–बिर्तामोड जोड्ने भित्री सडक अवरुद्ध बनेका छन् ।

ताप्लेजुङको आठराई त्रिवेणीमा दुई स्थानमा पहिरो खसेर भित्री सडक ठप्प छ भने सोलुखुम्बुको सोलु दुधकुण्डमा पहिरो जाँदा सिद्धिचरण लोकमार्ग प्रभावित बनेको प्रहरीले जनाएको छ ।

सडक अवरोधका साथै सम्भावित दुर्घटना जोखिम न्यूनीकरण गर्न प्रहरीले विभिन्न जिल्लाका राजमार्ग तथा भित्री सडकमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ । इलाम, पाँचथर र ताप्लेजुङमा मेची लोकमार्ग र भित्री सडकमा असोज ८ देखि ११ गतेसम्म बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।

धनकुटा, तेह्रथुम र संखुवासभाका कोशी लोकमार्ग खण्डमा पनि निश्चित समय तोकेर रात्रिकालीन सवारी बन्द गरिएको छ । भोजपुर, सोलुखुम्बु र उदयपुर जिल्लामा पनि सिद्धिचरण र मध्यपहाडी लोकमार्गका सडक खण्डहरूमा राति गाडी चलाउन रोक लगाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×