
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ यु–२३ टी–२० क्रिकेट प्रतियोगिताबाट पाँच जना युवा खेलाडीलाई टोलीको तयारी क्याम्पका लागि छनोट गरेको छ ।
छनोट भएका खेलाडीहरू अमर यादव, धवन साहनी, आयुष न्यौपाने, कविराज खत्री र नेपाल यु–१६ का खेलाडी सुयोग भट्टराई रहेका छन् ।
उनीहरू आगामी सेप्टेम्बर २९ देखि भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमी, गोरखपुरमा आयोजना हुने विराटनगर किंग्सको तयारी क्याम्पमा सहभागी हुनेछन् ।
क्याम्पका क्रममा पाँचै खेलाडीले विराटनगर किंग्सका अन्य खेलाडीहरूसँगै प्रशिक्षण गर्ने अवसर प्राप्त गर्नेछन् । प्रशिक्षण तथा अभ्यासका क्रममा उनीहरूको प्रदर्शन, क्षमता, अनुशासन र सम्भावनालाई टोलीका प्रशिक्षकले नजिकबाट मूल्यांकन गर्नेछन् । यी पाँच खेलाडीमध्ये एक जनालाई विराटनगर किंग्सको ‘आइकोनिक प्लेयर’ का रूपमा छनोट गरिने छ ।
विराटनगर किंग्सले ‘ड्रिम टु प्ले’ कार्यक्रममार्फत कोशी प्रदेशका ग्रासरुट स्तरका प्रतिभाशाली युवा क्रिकेटरलाई पहिचान गरी व्यावसायिक क्रिकेटको मञ्च प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । ‘ड्रिम टु प्ले’बाट किंग्सको तयारी क्याम्पसम्मको यात्रा युवा प्रतिभाका लागि ठूलो अवसर भएको विराटनगर किंग्सले जनाएको छ ।



















