
काठमाडौं । जापानको नागोया–आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले जापानलाई जितका लागि १५० रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
निसिनमा वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा जापानले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १४९ रनको विशाल योगफल तयार पार्यो ।
नेपालको सुरुवात भने राम्रो हुन सकेन । कुशल भुर्तेल १२ बलमा ४ रन बनाएर दोस्रो ओभरको अन्तिम बलमा आउट भए । त्यसपछि आसिफ शेखले १५ बलमा २१ रन जोडे । आसिफ आउट हुँदा नेपाल ६२ रनमा पुगेको थियो ।
कुशल मल्ल ५ बलमा २ रन र गुल्सन झा ६ बलमा २ रन बनाएर आउट भए । नेपाल ९.६ ओभरमा ८४ रनमा चार विकेट गुमाएको अवस्थामा थियो ।
त्यसपछि सन्दीप जोरा र लोकेश बमले आक्रामक ब्याटिङ गर्दै नेपाललाई बलियो योगफलतर्फ लगे । जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन बनाए ।
लोकेशले २२ बलमा एक चौका र छ छक्कासहित अविजित ५२ रन बनाए । जोरा र लोकेशले पाँचौँ विकेटका लागि अविजित साझेदारी गर्दै अन्तिम पाँच ओभरमा ६५ रन जोडे ।
नेपालले अतिरिक्तबाट ११ रन पाएको थियो । जापानका रियो साकुरानो–थोमस, जेक कुसुडा–नेर्न र डेक्लान सुजुकीले एक–एक विकेट लिए ।
अब जापानले १५ ओभरमा १५० रनको लक्ष्य पछ्याउने छ।

























