
काठमाडौं । नेपाल सरकारले १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेका व्यक्तिहरूको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ।
समितिले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित राजदूत नियुक्तिका लागि उपयुक्त छैनन् भन्ने लागेमा स्पष्ट आधार र सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाएको छ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र संघीय संसद्को सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने समितिले जनाएको छ। उजुरीमा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा उजुरीको स्पष्ट आधार खुलाउनुपर्नेछ। प्राप्त उजुरीमाथि आवश्यक प्रक्रिया पूरा गरी प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गरिने समितिले जनाएको छ।
समितिको असोज ८ गते बसेको बैठकले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरवशमशेर जङ्गबहादुर राणा र जर्मनीका लागि सरू जोशीलाई राजदूतमा सिफारिस गरिएको छ।
त्यस्तै, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतहरूको नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।



















