
काठमाडौं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह शनिबार स्वदेश फर्किएका छन्। महासभामा सहभागी हुन उनी गत मंगलबार अमेरिका गएका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले शुक्रबार महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोगिरहेको संकटप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका थिए।
सम्बोधनका क्रममा उनले जलवायु संकटलाई गम्भीरतापूर्वक लिन र यसको असर भोगिरहेका मुलुकप्रति जिम्मेवार बन्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे। हिमालयमा जलवायु परिवर्तनका कारण निम्तिएको विनाशलाई ‘हिमालयको सुनामी’को संज्ञा दिँदै उनले संकटलाई बेवास्ता गरिए मानव सभ्यताले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।
कुल विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि हिमालमा हिउँ पग्लिने, बाढी आउने र ठूलो जनधनको क्षति हुने अवस्था रहेको उनले उल्लेख गरे। जलवायु न्यायलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्री शाहले युद्ध र हतियारमा खर्च हुने स्रोतलाई मानवता, विकास तथा खाद्य सुरक्षामा केन्द्रित गर्न विश्व नेताहरूलाई आग्रह गरेका थिए। साथै, हिमालय क्षेत्रको सुरक्षाका लागि नेपाल, भारत र चीनसहितको ‘हिमालय जलवायु लचिलोपन संयन्त्र’ स्थापना गर्न प्रस्ताव गरेका थिए। हिमालयलाई कुनै एउटा देशको राजनीतिक सीमाभित्र मात्र सीमित भूभागका रूपमा नभई विश्वको जीवन रक्षा प्रणालीका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो।
विपद् व्यवस्थापनमा राहत र पुनःस्थापनासँगै जिम्मेवारी, क्षतिपूर्ति र जलवायु उत्थानशीलतालाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिएका थिए। जलवायु परिवर्तनका चेतावनीलाई बेवास्ता गरिरहे त्यसको असर नेपालजस्ता मुलुकमा मात्र सीमित नरहने भन्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर बन्न आग्रह गरेका थिए। अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग द्विपक्षीय भेटवार्तासमेत गरेका थिए।



















