भारी वर्षा घट्दै, सोमबारदेखि मौसम खुल्ने

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार ११:३६

काठमाडौं । देशका विभिन्न क्षेत्रमा केही दिनदेखि भइरहेको भारी वर्षा क्रमशः कम हुँदै जाने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज (आइतबार) रातिदेखि वर्षाको मात्रा घट्दै जाने र भोलि सोमबारदेखि मौसममा उल्लेख्य सुधार आउनेछ।

भारतको उत्तर प्रदेश आसपास केन्द्रित न्यूनचापीय प्रणाली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण नेपालमा पछिल्लो समय विभिन्न क्षेत्रमा भारी वर्षा भएको विभागले जनाएको छ।

Advertisement

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशका मकवानपुर र चितवन, गण्डकी प्रदेशका म्याग्दी, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व तथा लुम्बिनी प्रदेशका पाल्पा र नवलपरासी पश्चिमका केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।

यस्तै, कास्की, लमजुङ, बागलुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र सर्लाहीलगायत जिल्लामा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको अधिकारीले बताए। हाल मौसमी प्रणाली कमजोर बन्दै गए पनि आज दिउँसो पहाडी तथा तराईका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

लगातारको वर्षाले जमिन गलेको तथा नदी र खोलामा जलसतह बढेकाले पहिरो र बाढीको जोखिम तत्काल नघट्ने विभागले जनाएको छ। यही अवस्थालाई ध्यानमा राख्दै प्रभावित मध्य भूभागमा विभागले ‘रातो’ रङको उच्च सतर्कता (प्रतिकार्य) चेतावनी जारी गरेको छ।

तर, आज रातिदेखि वर्षा उल्लेख्य रूपमा कम हुने मौसमविद् अधिकारीले बताए। उनका अनुसार राति कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मात्र मध्यम वर्षा हुने सम्भावना छ। सोमबारदेखि भने देशभरको मौसम क्रमशः सफा हुँदै जाने विभागले जनाएको छ। विभागले सोमबारका लागि देशभर कुनै मौसमी जोखिम नरहेको जनाउँदै ‘हरियो’ सङ्केत जारी गरेको छ।

सोमबारदेखि तराई क्षेत्रमा घाम लाग्ने र पहाडी भूभागमा आंशिक बदली रहे पनि मौसम सामान्य बन्दै जाने भएकाले सर्वसाधारणले दैनिक कामकाज सहज रूपमा सञ्चालन गर्न सक्ने विभागको भनाइ छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×