
काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से बस्तीमा ८० घर बगाएको छ। बस्तीमा कालीगण्डकीको बाढी पसेपछि ८० घर बगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
शनिबार रातिदेखि नै बाढी बस्तीमा पस्न थालेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ गएका थिए। अहिलेसम्म मानवीय क्षतिबारे कुनै जानकारी प्राप्त नभएको सशस्त्र प्रहरीले जनाएको छ।
बस्तीका अन्य घरसमेत उच्च जोखिममा रहेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। टोलीले स्थानीयका जिन्सी सामानसमेत सुरक्षित स्थानमा सारेको प्रहरीले जनाएको छ।
बाढीका कारण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ भने फोन सम्पर्कमा समेत समस्या देखिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



















