
काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप दुई जनाको शव फेला परेको छ। मृतक दुवैजना संखुवासभाका हुन्। यससँगै हालसम्म चार जनाको शव उद्धार गरिएको छ।
भदौ ३० गते विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ जना नेपाली नागरिकमध्ये १० जना आइतबार साँझ सकुशल फू गाउँमा पुगेका थिए। बाँकी १२ जना भने सम्पर्कविहीन भएका थिए।
सम्पर्कविहीनमध्ये यसअघि दुई जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे, मनाङमा ल्याइएको थियो। सोमबार बिहान कैलाश हेलिकप्टरमार्फत उनीहरूको शव काठमाडौंस्थित शिक्षण अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
मृतकमध्ये संखुवासभाको भोटखोला गाउँपालिका–३ का ५२ वर्षीय छेबि भोटे र सोही गाउँपालिका–२ का ३१ वर्षीय पासाङ भोटेको पहिचान भएको छ।
यसैबीच, सोमबार बिहान ११ बजे कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप दुई जनाको शव प्रदेश अस्पताल चामे ल्याइएको छ। ती शवको भने पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब तीन दिन उत्तरतर्फको दूरीमा रहेको छ। बाँकी सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

























