
विराटनगर । औद्योगिक तथा व्यावसायिक सहर विराटनगरमा आगामी मंसिर २६ र २७ गते ‘विराट क्रिकेट लिग (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ । विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा दुई दिने राष्ट्रिय स्तरको कर्पोरेट प्रतियोगिता हुन लागेको हो ।
विराटनगर–६ स्थित म्यारीबोन ज्वाला क्रिकेट मैदानमा हुने यस प्रतियोगितामा देशभरका प्रमुख व्यावसायिक घराना तथा कर्पोरेट क्षेत्रका ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका लिग चरणका खेलहरू ‘सुपर ६’ (खेल ६ ओभर) को ढाँचामा सञ्चालन हुनेछन् भने सेमिफाइनल र फाइनल खेलहरू प्रति खेल १० ओभरको हुनेछ ।
प्रतियोगिता अवधिभर खेल मैदान परिसरलाई एउटा भव्य उत्सवका रूपमा सजाउने तयारी गरिएको छ । खेलका साथै दर्शक, खेलाडी तथा पाहुनाहरूका लागि विविध सांस्कृतिक तथा आकर्षक सांगीतिक प्रस्तुति र स्वादिष्ट स्थानीय तथा राष्ट्रिय परिकारसहितका ‘फुड स्टल’ रहने छन् । यस आयोजनाले कोशी प्रदेशको आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।



















