
काठमाडौं । जापानमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको नेपाली टोली स्वदेश फर्किएको छ ।
जापानको नागोयामा सेप्टेम्बर २० देखि २३ तारिखसम्म भएको २० औँ एसियाली खेलकुद तथा योकोहामामा सेप्टेम्बर २५ देखि २७ तारिखसम्म भएको ११ औँ सितोरियो कराँते डो अन्तर्राष्ट्रिय च्याम्पियनसिपका पदक विजेतासहितको टोली मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । दुवै प्रतियोगितामा नेपालबाट ३ पुरुष र ५ महिला गरी ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एसियाड खेलेका खेलाडी नै योकोहामामा भएको प्रतियोगितामा पनि सहभागी भएका थिए ।
एसियाली खेलकुदको कराँतेमा नेपालका तेन्जिङ शेर्पाले मात्र पदक जिते । उनले पुरुष ८४ केजीमाथि कांस्य पदक जितेका थिए । तेन्जिङको पदक २० औँ एसियाडमा नेपालले जितेको पहिलो पदक हो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा तेन्जिङले लाओसका खेलाडीलाई ९–१ ले पराजित गर्दै कांस्य पदक पक्का गरेका थिए ।
समग्र एसियाडको कराँतेमा तेन्जिङ पदक दिलाउने पाँचौँ खेलाडी हुन् । यसअघि एसियाडमा कराँतेले १ रजत र ३ कांस्य जितेको थियो । १९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कांस्य तथा सन् २०२२ को हाङझाव एसियाडमा एरिका गुरुङले रजत जितेका थिए ।
आठै खेलाडीले प्रतिस्पर्धा गरेको योकोहामाको प्रतियोगितामा नेपालले २ स्वर्ण, १ रजत र ३ कांस्य गरी ६ पदक जितेको थियो । नेपालले व्यक्तिगत स्पर्धामा ४ र टिम स्पर्धामा २ गरी ६ पदक हात पारेको थियो । महिला ६८ केजीमाथि एरिका गुरुङ र पुरुष ६० केजीमुनि राकेश मानन्धरले नेपाललाई स्वर्ण दिलाए । महिला ६८ केजीमुनि निरुपा दोङ तामाङले रजत तथा पुरुष ६७ केजीमुनि मीनबहादुर तामाङले कांस्य जिते ।
दोहोरो पदक जितेका एरिका र निरुपाले महिला टिम कुमुते पनि कांस्य हात पारे । यो स्पर्धामा उनीहरूसहित मेघा लिम्बू, एलिशा रास्कोटी मगर र सानुमाया थिङले प्रतिस्पर्धा गरेका थिए । मेघा, एलिसा र सानुमायाले महिला टिम काँता पनि कांस्य प्राप्त गरे । एसियाली खेलकुदमा भाग लिएपछि नेपाली टोली जापानको नागोयाबाट योकोहामा भएको प्रतियोगितामा सहभागी भएको थियो ।
पदक विजेता तेन्जिङले आफूले कराँते यात्रा सुरु गरेको बौद्ध डोजोलगायत सहयोगी सम्पूर्णलाई धन्यवाद दिँदै अझ लामो यात्रा तय गर्न बाँकी रहेको बताए ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, राखेपका सदस्य मोनालिसा खम्बु र ललिता नाथ, नेपाल कराँते महासंघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले स्वागत गरेका थिए ।
खेलाडीसँगै टोलीका व्यवस्थापक कराँते महासंघका अध्यक्ष युवराज लामा, कराँते महासंघका महासचिव दावा गुरुङ तथा प्रशिक्षकद्वय कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ पनि स्वदेश फर्किएका छन् ।

























