
हुम्ला । उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगै भएको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन् । हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएका हुन् । अध्यागमन अधिकृत विमल पौडेलका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१, २ र ३ का नागरिक छन् । उनीहरूमध्ये अधिकांश ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन् । गत शुक्रबार हिल्सा पुगेका उनीहरू हिमपात सुरु भएपछि नाका बन्द हुँदा त्यहीँ रोकिएका पौडेलले बताए ।
भारी हिमपातका कारण कैलाश मानसरोवर दर्शनका लागि चिनियाँ पक्षले आवतजावत बन्द गरेको छ । हिल्सामा कार्यरत अध्यागमन कर्मचारी पेमा लामाका अनुसार अक्टोबर ४ अर्थात् असोज १८ गतेदेखि नाका पुनः खुल्ने जानकारी आएको छ ।
चीनतर्फ सडक खुलाउने काम भइरहेको भए पनि नेपालतर्फ सडक सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हुम्लाका प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सामा करिब दुईदेखि अढाइ फिटसम्म हिउँ जमेको छ । हिल्सा पुग्न नारा लेक पार गर्नुपर्ने भएकाले त्यहाँ जमेको हिउँ पन्छाउन समय लाग्ने साउदले बताए । हिल्सामा एउटा मात्रै स्काभेटर रहेकाले सडक खुलाउन कठिनाइ भएको र इन्धनको समेत समस्या रहेको उनले बताए । स्थानीयवासी र सुरक्षाकर्मीले हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् ।
यस वर्ष हालसम्म हिल्सा नाकाबाट ६ हजार १० जना पर्यटकले कैलाश मानसरोवर दर्शन गरेका छन् । अध्यागमन अधिकृत पौडेलका अनुसार तीमध्ये अधिकांश भारतीय नागरिक छन् । त्यसपछि बेलायत, अमेरिका र नेपालका पर्यटक रहेका छन् ।
कैलाश मानसरोवर दर्शनको मुख्य समय सकिनै लाग्दा भएको भारी हिमपातले हिल्सा नाकाको आवतजावतसँगै स्थानीय व्यापार र सीमा क्षेत्रको जनजीवनसमेत प्रभावित भएको छ ।



















