सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय

Share this
628shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १७, शनिबार १८:२८

धनकुटा । संस्कृति, इतिहास र पहिचान जोगाउने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिकामा निर्माण गरिएका मगर र जनजाति संग्रहालय पर्यटकको आकर्षण बन्न सकेका छैनन् । पर्याप्त प्रचारप्रसार, पर्यटन पूर्वाधार र प्रभावकारी व्यवस्थापनको अभावमा महत्वपूर्ण सांस्कृतिक सामग्री सङ्ग्रह गरिएका यी संग्रहालय ओझेलमा परेका हुन् ।

चौबिसे गाउँपालिका–२ मुढेबासस्थित डाँडागाउँमा रहेको मगर संग्रहालयमा मगर समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका एक सयभन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक सामग्री छन् । पुराना भाँडाकुँडा, वेशभूषा, बाजागाजा, काठका सामग्री, कृषि औजार तथा हातहतियारले मगर समुदायको जीवनशैली र इतिहास झल्काउँछन् ।

गाउँपालिकाकी उपाध्यक्ष टंकमाया पाङ्मी मगरका अनुसार चार वर्षअघि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट प्राप्त १० लाख रुपैयाँबाट संग्रहालय निर्माण सुरु गरिएको थियो । मगर समुदायका लोप हुन लागेका सामग्री संकलन गरी सुरक्षित राखिए पनि पर्याप्त प्रचारप्रसार हुन नसकेको उनले बताइन् ।

मुढेबासमा मगर समुदायको उल्लेख्य बसोबास रहेकाले संग्रहालयलाई स्थानीय संस्कृति संरक्षण र पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीय प्रेमबहादुर मगरले बताए । उनका अनुसार त्यसका लागि सङ्ग्रहालयलाई पर्यटन गतिविधिसँग जोड्ने स्पष्ट योजना आवश्यक छ ।

चौबिसे–७ डाँडाटोलमा रहेको जनजाति संग्रहालयको अवस्था पनि फरक छैन । २०७५ सालमा निर्माण गरिएको यस संग्रहालयमा विशेषगरी लिम्बू समुदायको संस्कार, संस्कृति र जीवनशैलीसँग सम्बन्धित सामग्री राखिएका छन् । याखा, मगरलगायत अन्य जनजातिका सांस्कृतिक सामग्रीसमेत संग्रह गरिएको छ ।

संग्रहालयसम्म सडक सुविधा भएकाले साना तथा ठूला सवारीसाधन सहजै पुग्छन् । तर भौतिक पहुँच भए पनि पर्यटकको आगमन अपेक्षाअनुसार हुन सकेको छैन । गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले महत्वपूर्ण सांस्कृतिक सम्पदा सुरक्षित रहे पनि त्यसबारे धेरैलाई जानकारी नभएको बताए । उनका अनुसार विद्यालयस्तरीय शैक्षिक भ्रमण, सांस्कृतिक महोत्सव, कला–संस्कृति प्रदर्शन, पर्यटन प्याकेज र होमस्टेसँग जोडेर यसको प्रवर्द्धन गर्न सकिन्छ ।

चौबिसे प्राकृतिक सुन्दरता, जैविक विविधता र जातीय सांस्कृतिक विविधताले सम्पन्न क्षेत्र हो । यहाँका संग्रहालयलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न सके स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र सांस्कृतिक संरक्षणमा समेत सहयोग पुग्ने स्थानीयको विश्वास छ ।

स्थानीय दलबहादुर मगरले संग्रहालय निर्माणमा लगानी गरेपछि यसको नियमित सञ्चालन, व्यवस्थापन र प्रचारप्रसारमा पनि ध्यान दिनुपर्ने बताए । स्थानीय जीवन याखाले आवश्यक पूर्वाधार, प्रवर्द्धन र व्यवस्थापन गर्न सके यी संग्रहालय प्रदेशकै सांस्कृतिक पर्यटन गन्तव्य बन्न सक्ने बताए ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×