प्रसिद्ध कलाकार नाना पाटेकरको निधन

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार ०८:४४

एजेन्सी। बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार गोवास्थित आफ्नै घरमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो। रिपोर्टअनुसार उनलाई बचाउन करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो। तर चिकित्सकको प्रयास सफल हुन सकेन।

चिकित्सक डा. शेखर सालकरका अनुसार नाना पाटेकरको बिहान ५:२० बजे निधन भएको हो। उनको निधनपछि मेडिको–लिगल केस (एमएलसी) दर्ता गरी पोस्टमार्टमको तयारी गरिएको छ। पाटेकरले लामो समयदेखि हिन्दी र मराठी फिल्ममा अभिनय गर्दै आएका थिए। सन् १९८९ मा रिलिज भएको ‘परिन्दा’मा उनले अन्नाको भूमिका निर्वाह गरेका थिए। उक्त भूमिकाका लागि उनले उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए।

त्यसपछि सन् १९९४ को ‘क्रान्तिवीर’का लागि उत्कृष्ट अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार तथा सन् १९९६ को ‘अग्निसाक्षी’का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए। उनले आफ्नो करियरमा तीनवटा राष्ट्रिय फिल्म पुरस्कार जितेका थिए। भारतीय सिनेमामा योगदानका लागि उनलाई सन् २०१३ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो।

नाना पाटेकर गम्भीर भूमिकासँगै हास्य भूमिकामा पनि लोकप्रिय थिए। सन् २००७ मा आएको ‘वेलकम’मा उनले ग्याङ्स्टर उदय शेट्टीको भूमिका निर्वाह गरेका थिए। उक्त भूमिका निकै चर्चित बनेको थियो। उनले ‘वेलकम ब्याक’मा पनि यही भूमिका निर्वाह गरेका थिए।

फिल्म ‘प्रहार : द फाइनल अट्याक’का लागि उनले भारतीय सेनासँग सैन्य तालिमसमेत लिएका थिए। उनले मराठा लाइट इन्फेन्ट्रीसँग तालिम लिँदै सैनिक जीवनलाई नजिकबाट बुझेका थिए। सन् १९९९ को कारगिल युद्धका क्रममा पनि उनी सैनिकहरूसँग बसेका थिए। रिपोर्टअनुसार उनले दुई साताभन्दा बढी समय सैनिकहरूबीच बिताएर विभिन्न पोस्टमा पुग्दै उनीहरूको हौसला बढाएका थिए। पछि उनले आफू क्विक रियाक्सन टिमको हिस्सा पनि बनेको बताएका थिए।

नाना पाटेकरले विभिन्न अन्तर्वार्तामा देशका लागि हरेक व्यक्तिले आफ्नो तर्फबाट केही न केही योगदान गर्नुपर्ने बताउँदै आएका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×