
एजेन्सी । प्रेमिकालाई महँगो आइफोन उपहार दिने चाहनाले एक युवकलाई प्रहरीको हिरासतसम्म पुर्याएको । भारतको ग्वालियरस्थित महाराज बाडाको टोपी बजारमा रहेको एमएस मोबाइल सेन्टरबाट आइफोन चोरी गरेको आरोपमा राहुल यादव पक्राउ परेका छन् ।
घटना आइतबार दिउँसोको हो । पसलमा ग्राहक बनेर पुगेका यादवले पसलेसँग सिल्भर रङको आइफोन देखाउन आग्रह गरेका थिए । पसलेले फोन देखाउँदा अर्का एक ग्राहक पसलमा आएपछि पसले उनीसँग व्यस्त भए । पसले व्यस्त भएको मौका छोपी यादवले काउन्टरबाट आइफोन उठाएर भागेका थिए ।
केही समयपछि काउन्टरमा फोन नदेखेपछि पसले चिच्याउँदै चोरको पछि दौडिएका थिए । पसलेको आवाज सुनेपछि स्थानीय मानिसहरूले यादवलाई पछ्याएर केही दूरीमै नियन्त्रणमा लिएका थिए । खानतलासी गर्दा उनको साथबाट चोरी गरिएको आइफोन फेला परेको थियो ।
स्थानीय भिडले उनलाई कुटपिट गरेपछि प्रहरीलाई जिम्मा लगाएको थियो । खबर पाएलगत्तै कोतवाली थाना प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले उनलाई भिडबाट छुटाएर कार्यालय लगेको छ । प्रहरीको सोधपुछका क्रममा यादवले प्रेमिकालाई खुसी पार्न आइफोन उपहार दिन चाहेको र आफूसँग पैसा नभएपछि चोरीको बाटो रोजेको स्वीकारेका छन् ।



















