बहराइनका दुई अमेरिकी सैन्य हवाई अड्डामा इरानको क्षेप्यास्त्र र ड्रोन आक्रमण

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ६, आइतबार १४:३५

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित दुई अमेरिकी सैन्य हवाई अड्डामा क्षेप्यास्त्र तथा ड्रोनमार्फत आक्रमण गरेको जनाएको छ।

आईआरजीसीले शनिबार राति जारी गरेको विज्ञप्तिमा आफ्नो एयरोस्पेस फोर्सले बहराइनका अल रिफा र अवाली साखिर हवाई अड्डामा रहेका अमेरिकी राडारलाई लक्षित गरी जवाफी कारबाही गरेको उल्लेख गरेको छ।

इरानको आधिकारिक सञ्चारमाध्यम सेपाह न्युजमा प्रकाशित विज्ञप्तिअनुसार अमेरिकी पक्षबाट इरानी हवाई क्षेत्रको उल्लङ्घन जारी रहेकाले उक्त कारबाही गरिएको हो।

आक्रमणमा अमेरिकी सेनाको प्याट्रियट हवाई रक्षा प्रणालीसँग सम्बन्धित दुई राडारमा क्षति पुगेको आईआरजीसीको दाबी छ।

आईआरजीसीले अमेरिकी सेनाका एमक्यू–१ प्रिडेटर र एमक्यू–९ रिपर ड्रोनले पनि शनिबार इरानी हवाई क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ।

इरानी हवाई क्षेत्र आफ्नो सशस्त्र सेनाका लागि संवेदनशील विषय भएको उल्लेख गर्दै उसले उल्लङ्घन भए कडा जवाफ दिने चेतावनी दिएको छ।

यसैबीच, बहराइनको आन्तरिक मन्त्रालयले इरानी आक्रमणमा एउटा औद्योगिक प्रतिष्ठानलाई लक्षित गरिएको र त्यहाँ आगलागी भएको जनाएको छ। आगो नियन्त्रणमा लिन नागरिक सुरक्षा टोली परिचालन गरिएको मन्त्रालयले बताएको छ।

बहराइन रक्षा बलका अनुसार हवाई रक्षा प्रणालीले इरानबाट प्रहार गरिएका केही हवाई आक्रमणलाई रोकेको थियो। रोकिएका आक्रमणका अवशेष खस्दा सामान्य भौतिक क्षति भए पनि मानवीय क्षति नभएको जनाइएको छ।

यसैबीच, इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकाले लगाएको आर्थिक नाकाबन्दीलाई युद्धको कार्यका रूपमा लिएको बताए। उनले नाकाबन्दी तोड्न आवश्यक सबै उपाय अपनाउने चेतावनी दिए।

उनका अनुसार युद्धविराम गर्ने र हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने दुईदिने योजना इरानले अघि सारेको एकमात्र प्रस्ताव हो।

अमेरिकाले उक्त योजना कार्यान्वयनका लागि आवश्यक सर्त पूरा गरे वार्ता अघि बढाउन सकिने उनले बताए।

इरान र अमेरिकाबीच हर्मुज जलमार्ग तथा आसपासका क्षेत्रमा तनाव पुनः बढिरहेका बेला पछिल्लो घटना भएको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.