
काठमाडौं । भारतीय क्रिकेट टोलीका चर्चित लेग स्पिनर युजवेन्द्र चहल राजनीतिमा प्रवेश गरेका छन्। उनी भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) मा आबद्ध भएका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार चहल शनिबार भाजपाको नयाँ राष्ट्रिय ओबीसी मोर्चाको कार्यकारी समितिमा ‘विशेष आमन्त्रित सदस्य’का रूपमा पार्टीमा प्रवेश गरेका हुन्।
३६ वर्षीय चहलले भारतीय राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) तथा टी–२० क्रिकेट खेलेका छन्। उनी टी–२० क्रिकेटमा ४०० विकेट लिने पहिलो भारतीय बलरसमेत हुन्।
यसअघि भाजपाले पूर्वभारतीय क्रिकेटर हरभजन सिंहलाई पनि पार्टीमा आबद्ध गराएको थियो। चहलको राजनीतिक प्रवेशसँगै भारतीय क्रिकेट क्षेत्रका खेलाडीहरूको राजनीतिमा सहभागिता फेरि चर्चामा आएको छ।



















