
जनकपुरधाम । मधेश प्रदेशमा विद्युत् चुहावट घटाउने अभियानको प्रभाव देखिन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा प्रदेशमा विद्युत् चुहावट गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ दशमलव ६१ प्रतिशतले घटेको छ ।
प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौमा २० दशमलव ९५ प्रतिशत विद्युत् चुहावट छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा चुहावट २२ दशमलव ५६ प्रतिशत थियो ।
गत आवको साउनमा २५ दशमलव ६७ र भदौमा २३ दशमलव ५२ प्रतिशत चुहावट भएको थियो । चालु आवमा साउनको चुहावट २० दशमलव ०९ प्रतिशतमा झरेको छ भने भदौमा २१ दशमलव ७६ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख इञ्जिनियर शम्भु कुसियैतका अनुसार हुकिङ नियन्त्रण, ग्राहकको बिलिङ तथा मिटर रिडिङमा सुधार, लामो समयदेखि बन्द रहेका मिटर परिवर्तनलगायतका कामलाई तीव्रता दिइएपछि चुहावट घटेको हो । वितरण केन्द्रअनुसार भने चुहावटको अवस्था फरक छ । सबैभन्दा कम चुहावट बाराको सिमरा वितरण केन्द्रमा २ दशमलव ९४ प्रतिशत छ भने सबैभन्दा बढी रौतहटको मौलापुर वितरण केन्द्रमा ४७ दशमलव ७७ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।
कुसियैतका अनुसार रौतहटको मौलापुर र गौर तथा सर्लाहीको मलङ्गवा क्षेत्रमा विद्युत् चुहावटको समस्या बढी देखिएको छ । औद्योगिक ग्राहकको सङ्ख्या धेरै रहेकाले सिमरा वितरण केन्द्रमा भने चुहावट तुलनात्मक रूपमा कम रहेको उनले बताए ।
प्राधिकरणले विद्युत् महसुल नतिर्ने ग्राहकविरुद्ध पनि अभियान चलाइरहेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा महसुल नतिर्ने आठ हजार ७८२ ग्राहकको विद्युत् लाइन काटिएको छ । लाइन काटिएकामध्ये आठ हजार २३४ ग्राहकले बक्यौता बुझाएर पुनःविद्युत् जडान गराएका छन् । उनीहरूबाट रु २० करोड नौ लाख ७७ हजार बक्यौता असुल भएको प्राधिकरणले जनाएको छ ।
मिटर लिएर विद्युत् उपभोग गर्ने तर लामो समयसम्म महसुल नतिर्ने प्रवृत्ति बढेकाले लाइन काट्ने अभियान सञ्चालन गरिएको कुसियैतले बताए । गत आर्थिक वर्षमा ४२ हजार ६६४ ग्राहकको लाइन काट्दा रु एक अर्ब ४७ लाख बक्यौता असुल भएको थियो । प्राधिकरणका अनुसार मधेश प्रदेशमा ५९ प्रतिशत औद्योगिक र ३१ प्रतिशत घरेलु ग्राहक छन् । प्रदेशका ९९ दशमलव ९९ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको र बाँकी क्षेत्रमा पनि विद्युत् विस्तारको काम भइरहेको कुसियैतले बताए ।



















