सिन्धुलीमाढी-उदयपुर सडक निर्माणमा ढिलाइ गर्ने कम्पनीसँग ठेक्का तोड्ने तयारी

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार १०:५२

सिन्धुली। बागमती प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुलीमाढीले सडक स्तरोन्नतिको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई ठेक्का सम्झौता किन अन्त्य नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सिन्धुलीमाढी–भुमेस्थान–चकमके–उदयपुर–कटारी सडक स्तरोन्नतिको ठेक्का पाएको ‘कन्टेक–जयी–जय शम्भु जेभी’, नयाँ बानेश्वर, काठमाडौँलाई १५ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनेको हो । ठेक्का नम्बर पीआरडीओ–एसआईएन/डब्लु/एनसीबी/१५/०७८–७९ अन्तर्गत उक्त सडकको चेनेज १८+३२० देखि २७+३६० सम्म स्तरोन्नति गर्न निर्माण कम्पनीसँग २०७९ जेठ १७ गते सम्झौता भएको थियो । सुरुको सम्झौतापछि दुई पटक म्याद थप गरी २०८२ फागुन २७ गतेसम्म समय दिइए पनि काम पूरा नभएको कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण ठेक्का सम्झौताबमोजिम पूर्वनिर्धारित क्षतिपूर्ति लाग्ने २०० दिनको अतिरिक्त अवधिमा समेत काम सम्पन्न हुन नसकेको सूचनामा उल्लेख छ । कार्यालयले काम अघि बढाउन पटक–पटक ताकेता गर्दा पनि अपेक्षित प्रगति नभएको जनाएको छ । यसअघि पत्राचार गरी स्पष्टीकरण माग गर्दा पनि निर्माण व्यवसायीले चित्तबुझ्दो जवाफ पेस नगरेको कार्यालयको भनाइ छ ।

ठेक्का सम्झौता अन्त्य गर्नु नपर्ने कुनै मनासिब कारण भएमा त्यसको चित्तबुझ्दो स्पष्टीकरणसहित निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि कुशल कुमार शर्मा स्वयं १५ दिनभित्र कार्यालयमा उपस्थित हुन सूचनामा भनिएको छ । तोकिएको अवधिमा उपस्थित नभएमा यसै सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाइने कार्यालयले चेतावनी दिएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ को उपदफा २(क) र उपदफा ७ बमोजिम ठेक्का सम्झौता अन्त्य गरी आवश्यक कानुनी कारबाही अघि बढाइने सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.