
विराटनगर । विराटनगर जेसीजको आगामी कार्यकालका लागि रञ्जन कुमार शाही अध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको सचिवालयमा सम्पन्न निर्वाचनबाट शाहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
निर्वाचनबाट वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा प्रवेश दुलाल तथा कार्यकारिणी उपाध्यक्षमा सिर्जना थापा र गौरव कर्ण निर्वाचित भएका छन् । त्यस्तै, तालिम निर्देशकमा सबिन अधिकारी चयन भएका छन् ।
उपाध्यक्षमा हेमन्त रजक, रोशनी प्रधान, पंकज मेहता र प्रविण दाहाल चयन भएका छन् भने जनसम्पर्क अधिकारीमा निर्मल सापकोटा निर्वाचित भएका छन्। निर्वाचन आयुक्त प्रीतेशराज दाहालले निर्वाचनको परिणाम सार्वजनिक गरेका हुन्।
नवनिर्वाचित अध्यक्ष शाहीले आफ्नो नेतृत्व कुनै एक व्यक्ति वा समूहको नभई सम्पूर्ण सदस्यको साझा नेतृत्व हुने बताएका छन् । सबै सदस्यको क्षमता, अनुभव र विचारलाई समेटेर संस्थाको गरिमा र प्रतिष्ठा अभिवृद्धि गर्ने उनको प्रतिबद्धता छ।
शाहीले युवा नेतृत्व विकास, प्रभावकारी तालिम, सामाजिक सेवा र संस्थागत सुदृढीकरणलाई आफ्नो कार्यकालका प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन् ।
नयाँ कार्यसमितिले युवा सशक्तीकरण, नेतृत्व क्षमता अभिवृद्धि र सामाजिक उत्तरदायित्वका क्षेत्रमा काम गर्ने अपेक्षा गरिएको विराटनगर जेसीजकी जनसम्पर्क अधिकारी जेसी आकृति रानी फुयलले जानकारी दिएकी छन् ।

























