
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, कानुन संकाय डीनको कार्यालयले शैक्षिक सत्र २०८३/०८४ का लागि कानुनमा स्नातकोत्तर तह (एलएलएम) को प्रवेश परीक्षा फाराम खुला गरेको छ ।
संकायअन्तर्गतका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा एलएलएम प्रथम सेमेस्टरमा नयाँ विद्यार्थी भर्नाका लागि बुधबार सूचना जारी गर्दै आवेदन आह्वान गरिएको हो ।
डीनको कार्यालयका अनुसार इच्छुक विद्यार्थीले २०८३ मङ्सिर १० गते बिहीबारदेखि अनलाइनमार्फत प्रवेश परीक्षाको फाराम भर्न सक्नेछन् ।
त्रिविको आङ्गिक क्याम्पस नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गमा चार सेमेस्टरको दिवा र छ सेमेस्टरको बिहानी समूहमा पढाइ हुनेछ । त्यस्तै, पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा छ सेमेस्टरको बिहानी समूह र ललितपुरको सानेपास्थित सम्बन्धनप्राप्त नेशनल ल कलेजमा चार सेमेस्टरको दिवा समूहका लागि प्रवेश परीक्षा फाराम खुलाइएको छ ।

























